काठमाडौं- ग्रेगोरियन पात्रोअनुसार आजबाट नयाँ वर्ष इस्वी सन् २०१८ सुरु भएको छ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि नै इस्वी सनको सुरुवात भएको हो। सनमा सौरमासको गणना हुने तर चन्द्रमासको गणना नहुने भएकाले ज्योतिषशास्त्रअनुसार यो वैज्ञानिक नभएको विभिन्न संवतसम्बन्धी अनुसन्धानमा लागेका डा शास्त्रदत्त पन्तले बताए।
'इस्वी सनमा चन्द्रमासको गणना नहुने भएकाले समयक्रममा दिन फरक पर्दा शासक वा पादरीले भिटो लगाएर यसको निर्णय गर्छन्, यसैले यो पटकपटक विवादमा आएको संवत् हो,' उनले भने।
पोप ग्रेगोरीले जुलियन पात्रो अनुसारको सनलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ। जुलियन पात्रो शासक जुलियस सिजरले प्रचलनमा ल्याएका थिए। विवादकै कारण यो पात्रो रसियाले २०० वर्षपछि मात्र प्रचलनमा ल्याएको पूर्वप्रशासक एवम् ज्योतिषाचार्य डा खिलानाथ बस्ताकोटी बताउँछन्।
विवाद भए पनि उपनिवेशकालमा विभिन्न स्थानमा यो संवत् लादेकाले हाल यसको विश्वव्यापी प्रचार छ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन्। केही वर्षअघि देखि नेपालका विभिन्न स्थानमा इस्वी सन् मनाउने गरिएको छ। विदेशी पर्यटकको भिडभाड हुने काठमाडौँको ठमेल, बौद्ध, पोखरा लगायत स्थानमा ‘न्यू इयर इभ’ का नाममा आइतबार बेलुकादेखि रातभर नयाँ वर्षलाई स्वागत गर्न विभिन्न कार्यक्रम भएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।