काठमाडौं- त्रिभुवन विश्वविद्यालयको दीक्षान्त समारोहमा ६ हजार २६७ विद्यार्थी दीक्षित भएका छन्।
पुल्चोकस्थित इञ्जिनियरिङ क्याम्पसको प्रांगणमा भएको दीक्षान्त समारोहमा एकै व्यक्तिले तीन वटा पदक प्राप्त गरेका छन्।
स्नातकोत्तर तहको ०७१ तर्फ प्रशन्नकुमार तामाङले चान्सलर पदक, त्रिवि प्राध्यापक संघ स्वर्ण पदक र रामप्रसाद मानन्धर स्वर्ण पदक गरी तीन वटा पदक पाएका हुन्।
स्नातकोत्तर तहको प्रथम श्रेणीमा प्रथम र सम्पूर्ण स्नातकोत्तर तहमा सर्वप्रथम भएकाले उनले उक्त तीन वटा पदक प्राप्त गरेको त्रिविको परीक्षा नियन्त्रण कार्यालयका सहनियन्त्रक पशुपति अधिकारीले बताए।
उदयपुर जिल्ला उदयपुरगढी गाउँपालिका–३ का तामाङले स्नातकोत्तर तहमा गणित विषयमा केन्द्रीय विश्वविद्यालय क्याम्पस कीर्तिपुरबाट उत्तीर्ण गरेका हुन्।
तीन वटा पदक पाएकामा खुसी व्यक्त गर्दै उनले भने, 'मिहिनेतको फल प्राप्त भएको अनुभव भएको छ। यसले मलाई थप हौसला प्रदान गरेको छ।'
तामाङले गणित विषयमा विद्यावारीधि गर्न अमेरिका जाने तयारीमा रहेको बताउँदै विद्यावारीधिपछि पुनः नेपालमा फर्की विश्वविद्यालयमा शिक्षण पेशा गर्ने बताए।
यसैगरी, समारोहमा त्रिवि प्राध्यापक संघद्वारा स्थापित शहीद हरिराज अधिकारी स्वर्ण पदकबाट व्यवस्थापन संकायमा एमफिलतर्फ सर्वोकृष्ट अंक ल्याउने डम्बर सुवेदीलाई सम्मान गरिएको छ। उनले जनप्रशासन क्याम्पस बल्खुबाट एमफिल गरेका हुन्।
त्यस्तै समारोहमा स्नातकोत्तरतर्फ २० र स्नातकतर्फ ११ जनालाई समेत विभिन्न पुरस्कार प्रदान गरियो। सबैलाई प्रधानमन्त्री तथा त्रिविका कुलपति शेरबहादुर देउवा र भारतस्थित जवारलाल नेहरु विश्वविद्यालयका उपकुलपति प्राडा एम जगदीश कुमारले पुरस्कार तथा पदक दिएका थिए।
समारोहमा विभिन्न संकायबाट ६२ जनालाई विद्यावारीधि उपाधि प्रदान गरियो। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।