लन्डन– इंग्लिस प्रिमियर लिग लिडर म्यानचेस्टर सिटीको १८ खेलको जितको यात्रामा पूर्णविराम लागेको छ। आइतबार भएको खेलमा क्रिस्टल प्यालेस र सिटीले गोलरहित बराबरी खेलेका हुन्। यद्यपी सिटी लिगमा अपराजित छ। सिजनमा सिटी दोस्रो पटक बराबरीमा रोकिएको हो।
सिटीले सिजनमा लगातार १८ खेल जित्दै कीर्तिमान बनाएको थियो। प्रिमियर लिगमा लगातार १८ खेल जित्ने सिटी पहिलो टिम हो।
खेलमा सिटीलाई प्यालेसले दबाबमा राखेको थियो। अन्तिम मिनेटमा प्यालेसले पाएको पेनाल्टीलाई गोलमा परिणत गर्न नसक्दा सिटी सिजन पहिलो हार चखाउन असफल भयो।दोस्रो हाफको इन्जुरी टाइमको दोस्रो मिनेटमा प्यालेसका लुका मिलिभोजेभिको पेनाल्टी प्रहारलाई सिटीका गोलकिपर इडर्सनले विफल पारे। रहिम स्टलिङले विलफ्रेड जाहालाई फल गरेपछि प्यालेसले पेनाल्टी पाएको थियो।
बराबरीपछि पनि सिटीले लिगमा १४ अंकको अग्रता लिएको छ। सिटीको २१ खेलबाट ५९ अंक छ। दोस्रो स्थानको चेल्सीको २१ खेलबाट ४५, तेस्रो स्थानको युनाइटेडको ४४, चौथो स्थानको लिभरपुलको ४१ र एक खेल कम खेलेको टोटनह्यामको ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।