राजविराज– संघीय संरचनामा प्रदेश २ को राजधानी जनकपुर वा विरगञ्जलाई बनाउनुपर्छ भन्ने चर्चा चलिरहेका बेला सप्तरीमा पनि राजविराजलाई प्रादेशिक राजधानी बनाउनुपर्ने बहस सुरु भएको छ।
वृहत् नागरिक सञ्जाल समाज राजविराजले शनिबार कार्यक्रम आयोजना गरी यस विषयमा बहस सुरु गरेको छ। ‘प्रदेश २ को राजधानी राजविराजमा’ विषयक गोष्ठिमा परिवर्तनका लागि भएका हरेक आन्दोलनमा अग्रणी स्थानमा रहेको तथा गणतान्त्रिक आन्दोलनको अगुवाई गरेको सप्तरीको राजविराजलाई नै प्रादेशिक राजधानी बनाउनु उपयुक्त हुने वक्ताहरुले बताए।
प्रतिबन्धित समयमा नेपाली कांग्रेसका बिपी कोइराला, गणेशमान सिंह, सुवर्ण शमसेर लगायतका नेताले सेल्टर लिएको र कांग्रेसको रणनीति निर्माणदेखि कार्यकर्ता परिचालनसम्मका काम सप्तरीबाट हुने गरेको इतिहासलाई जिवन्न राख्न पनि राजविराज राजधानी बन्नुपर्ने उनीहरुको तर्क छ।
वक्ताहरुले प्रजातन्त्र स्थापनापछि पनि कांग्रेसले थालेको संघर्षलाई गजेन्द्रनारायण सिंह, कुशेश्वर पाठक, विजयानन्द मिश्र, जयमंगल सिंह, देवनारायण यादव, खुशीलाल मण्डल, कमानन्द मिश्रलगायतका नेताले राजनीतिमा सप्तरीको कद कहिल्यै झुक्न नदिएको बताए। राजा र राजसंस्थाको निर्णय विरुद्ध बोल्नु पनि अपराध मानिने कठोर पञ्चायत कालमा मुलुकमै पहिलोपटक गणतन्त्रको नारा लगाउने रामराजाप्रसाद सिंहको सम्मानका लागि पनि राजविराज नै प्रादेशिक राजधानी बन्नुपर्नेमा उनीहरुको जोड थियो।
यसैगरी, राजविराज विमानस्थल, गजेन्द्रनारायण सिंह औद्योगिक क्षेत्र, सगरमाथा अञ्चल अस्पताल, धार्मिक तथा पर्यटकीय स्थल, प्राविधिक शिक्षालय लगायतका संरचनालाई अझ सेवा सुविधा थप गर्दै राजविराजलाई राजधानी बनाउन सकिने भन्दै वक्ताहरुले राजनीकि नेतृत्वलाई गम्भीर भएर सोच्न आग्रह गरेका छन्।
कार्यक्रममा नेकपा एमालेका केन्द्रीय सदस्य सुमनराज प्याकुरेलले विकासका अवधारणा तथा राजविराजलाई प्रादेशिक राजधानी बनाउने ‘प्रोजेक्ट प्लान’सहित अघि बढ्न सुझाव दिँदै प्राविधिक रुपमा सबै कुरा मिल्दै गए आफनो पार्टी बाधक नहुने बताए।
कार्यक्रममा मुस्लिम अगुवा हासिम अन्सारी, नागरिक सञ्जालका अध्यक्ष सुखराम यादव, कानुन व्यवासयी तथा नागरिक अगुवाहरुले आ–आफनो धारणा राखेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।