काठमाडौं– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बिहिबार साँझ भेटवार्तापछि प्रफुल्ल मुद्रामा छुट्टिएका थिए।
झण्डै एक घण्टा लामो भलाकुसारीमा नेता द्वयले मूलतः संक्रमणकालीन न्यायका विषयमा कुराकानी गरेको उनीहरु निकट स्रोतहरुले बताएका छन्।
‘राजनीतिका अरु आयामहरुबारे छलफल भएन तर शान्ति प्रक्रियाका दुई जिम्मेवार दल भएकाले यही विषयमा बाँकी रहेको विषयमा कुराकानी भएको हो,' नेपाल लाइभसँग भेटवार्ता पुष्टि गर्दै नेकपा अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ नजिकका एक नेताले भने, ‘मैले थाहा पाएअनुसार दुबै नेताहरुले सौहार्दपूर्ण तर अनौपचारिक ढंगमा कुराकानी गरे।’
तत्कालीन माओवादीले सशस्त्र विद्रोह सुरु गरेपछि शान्ति प्रक्रियाको फेरोमा परेका न्यायिक मुद्दाहरुलाई कसरी राजनीतिक निरुपण गर्ने भन्ने विषयमा ठोस रुपमा काम अगाडि नबढेपछि यसबारे दुबै नेताहरु चिन्तित देखिएको ती नेताले बताए।
ललितपुरको समिट होटलमा भएको भेटवार्तामा नेकपा अध्यक्ष प्रचण्डले ‘शान्ति प्रक्रिया एउटा जिम्मेवार सरोकारवाला दल भएकाले यसबारे अहिले पनि कांग्रेसले जिम्मेवारीपूर्वक भूमिका निर्वाह गर्नुपर्ने' तर्क कांग्रेस सभापति देउवा समक्ष राखेका थिए। जवाफमा देउवाले ‘कांग्रेस कहिल्यै पनि यो विषयमा उदासीन नभएको बरु नेकपाभित्रै फरक फरक मतहरु रहेको’ बताएका थिए।
हिजो बुधबार मात्र बालुवाटारमा प्रधानमन्त्री केपी ओलीसँग छलफल गरेका प्रचण्डले सोही कुराकानीका आधारमा आज देउवालाई भेटेको बताइएको छ। तर प्रचण्डले संक्रमणकालीन न्यायको मुद्दामा केपी ओलीलाई भन्दा आफूलाई चासो र चिन्ता बढि भएकाले यो विषयबारे आफू सक्रिय हुने जनाउ देउवालाई दिएका थिए।
‘मूलतः यो विषय कांग्रेस र हिजोको माओवादीको हो, हामीले नै मिलेर निष्कर्षमा पुर्याउनु पर्छ, यसका लागि म तपाईंलाई नेता मान्छु,' भेटवार्ताको सन्दर्भमा प्रचण्डलाई उधृत गर्दै स्रोतले भन्यो, ‘उहाँहरुबीच अब यो विषयलाई प्राथमिकतामा पार्ने सहमति भएको छ।’
देउवासँगको भेटमा १२ बुँदे सम्झौतादेखि शान्ति प्रक्रियाले मूलबाटो तय गरुन्जेलसम्म गिरिजाप्रसाद कोइरालाले आफूलाई शतप्रतिशत विश्वास गरेको स्मरण समेत गरेका थिए। उनले भनेका थिए, ‘गिरिजाबाबुले यो विषयमा कांग्रेस कहिल्यै पछि हट्दैन, सुल्झाउने कुरामा प्रतिबद्धता गर्छ।’
केही दिन अघि बसेको नेकपाको सचिवालय बैठकमा पनि संक्रमणकालीन मुद्दा टुंगाउनेबारे छलफल भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।