काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) को उपाधि विराटनगर वारियर्सले जितेको छ। शनिबार भएको फाइनल भिडन्तमा भैरहवा ग्लाडिएटर्सलाई १ रनले पराजित गर्दै विराटनगरले उपाधि जितेको हो।
पहिले ब्याटिङ गरेको विराटनगरले १ सय ४९ रन जोडेको थियो। १ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले २० ओभरमा ९ विकेट गुमाएर १ सय ४८ रनमा मात्र जोड्न सक्यो। हातबाट फुत्किसकेको खेलमा उत्कृष्ट पुनरागमन गराउन रणनीति बनाएका विराटनगरका कप्तान पारस खड्काले खेलपछि दिएको प्रतिक्रिया यस्तो छ –
फाइनल खेल दुवै टिमका लागि उत्कृष्ट रह्यो। अन्त्यमा हामीले पुनरागमन गर्न सफल भयौं। यस्तो खेल विरलै जितिन्छ। सबै खेलाडी बधाइका पात्र हुन्। हामीले प्रतियोगिताभर राम्रो क्रिकेट खेल्यौं। जसले गर्दा हामीले उपाधि जित्न सफल भयौं।
कहिलेकाहि क्रिकेट निर्दयी खेल बनिदिन्छ। आज अंशुमानको ओभरमा पनि त्यस्तै भयो। तर उनले प्रतियोगिताभर राम्रो खेलेर हामीलाई यहाँ सम्म ल्याएको हो। कहिलेकाँहि क्रिकेटरहरु जीवनमा यस्तै क्षणहरु आउछ। मैले पनि एकै ओभरमा २५ रनमा खाएको छु। हामीले त्यस्ता कुरा बिर्सेर शान्त बनेर अघि बढ्नुपर्छ ।
अन्तिम ओभर हाम्रो लागि जुवा जस्तै थियो। जसमा हामी सफल भयौं। भैरहवा अलि दबाबमा आयो। अनिलले अन्तिम ओभरमा राम्रो गरेकाले हामीले जितेका हौं।
क्रिकेटमा अन्तिम बल नफ्याँक्दासम्म आसा सकिदैन। हामीले अन्तिमसम्म आसा मारेका थिएनौ। हामीले अन्तिम ओभरसम्मका लागि सक्दो प्रयास गरिरहेका थियौं। अन्तिम ओभरमा ९ रन चाहिएको अवस्थामा जित्न सक्ने सोचेको थिए। अन्तिम ओभरमा उनीहरुले दबाबमा खेले हामीले त्यसको फाइदा लिन सफल भयौं।
इपिएलको आयोजनाले घरेलु क्रिकेटको मापदण्ड बढेको छ। यस्ता खालका प्रतियोगिताहरु विभिन्न फर्म्याटमा हुनै पर्छ। यसलाई अझ माथिल्लो लेभलमा लैजान सक्यो भने नेपाली क्रिकेटका लागि फाइदा हुन्छ।
प्रतियोगितामा धेरै खेलाडीले राम्रो प्रदर्शन गरेका छन्। तर राष्ट्रिय टिमका लागि चाहिने विकेटकिपर ब्याट्सम्यानले राम्रो प्रदर्शन गर्न सकिएका छैनन्। डिभिजन–२ अघि हामीसँग अझै समय छ।
अर्को तर्फ फाइनलमा यति धेरै दर्शकहरु मैदानमा आएर हेरिदिनु भयो। सबैलाई धेरै धन्यवाद दिन चाहान्छु। फ्यानले गर्दा यो प्रतियोगिता अन्तर्राष्ट्रिय क्रिकेट खेलेको जस्तो महसुस भयो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।