काठमाडौं- संचार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले मन्त्रीपरिषद पुनर्गठन हुने संकेत गरेका छन्।
सरकारका प्रवक्ता समेत रहेका मन्त्री बाँस्कोटाले मन्त्रिपरिषद् पुनर्गठन हुने विषय प्रधानमन्त्रीसँग नीहित हुने स्पष्ट पार्दै पुनर्गठन हुनसक्ने संकेत गरेका हुन्।
बिहीबार मन्त्रीपरिषदका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा संचारकर्मीले राखेका जिज्ञासाको जवाफ दिने क्रममा उनले ठूलो पार्टी र धेरै नेता भएकाले मन्त्रिपरिषद पुनर्गठन कुनै पनि बेला हुन सक्ने र त्यसको अधिकार प्रधानमन्त्रीसँग मात्रै रहेको पनि बताए।
मन्त्री बाँस्कोटाले प्रधानमन्त्री केपी ओलीले महसुस गर्नसाथ मन्त्रिपरिषद् पुनर्गठन हुन सक्ने उल्लेख गरे। यो अधिकार प्रधानमन्त्रीमा नीहित रहेकाले आफूले त्यसबारे बोल्न नमिल्ने पनि उनले पटकपटक दोहोर्याएका थिए।
मन्त्री बास्कोटाले मन्त्रीहरु कतिजना फेरिन्छ भनेर समाचार माध्यामले समाचार बनाउनु पनि बेकार हुने बताए।
उनले 'क्लिन फिड’ लागू गरेरै छाडने दृढता व्यक्त गर्दै भने, 'संचार माध्यामहरुलाई सबल बनाउने गरी ल्याइएको सो विधेयक संसदबाट पारित हुनेछ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।