काठमाडौं– कतिपयले भन्ने गर्छन्, पारस खड्का र नेपाली क्रिकेट पर्यायवाची हुन्। यसको जबरजस्त कारण हो, नेपाली राष्ट्रिय टिमको प्रर्दशन धेरै हदसम्म कप्तान पारसकै प्रर्दशनमा निर्भर रहन्छ।
अझ कठिन परिस्थितिबाट जितसम्म डोर्याउने पारसलाई धेरैले कप्तान कुलको संज्ञा दिने गर्छन्। पारसले यहि छवि शनिबार कीर्तिपुर मैदानमा दोहोर्याएपछि एभरेस्ट प्रिमियर लिग (इपिएल) टी–२० क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा विराटनगर वारियर्सले भैरहवा ग्लाडिएटर्समाथि १ रनको रोमाञ्चक जित दर्ता गरेको छ।
टी–२० क्रिकेटमा १ सय ५० रनको मध्यम लक्ष्य अनि एकै ओभरमा खर्चिएको ३६ रन, कुनैपनि टिमलाई खेलमा फर्कने कठिन परिस्थिति हो। तर उपाधि भिडन्तमा सबै प्रकारको रोमाञ्चकता थप्दै पारस खड्का नेतृत्वको विराटनगरले इपिएल क्रिकेटको उपाधि जितेको छ।
टस जितेर पहिले ब्याटिङ गरेको विराटनगरले २० ओभरमा ७ विकेटको क्षतिमा १ सय ४९ रन जोडेको थियो। विराटनगरका लागि ओपनर अंशुमान राथले ४ चौका र १ छक्काको मद्दतमा ४१ रन जोडेका थिए। कप्तान पारसले २२ बलमा १ चौका र २ छक्काको मद्दतमा २७ रन बनाए। अनिल साहको २२ र प्रनित थापामगरको १४ रन पनि विराटनगरका लागि महत्वपूर्ण सावित भयो।
१ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले राम्रो सुरुवात गर्यो। ओपनिङ ब्याट्सम्यान राहुल यादव भएपनि प्रथम सालुङ्के र कप्तान शरद भेषावकरको जोडीले भैरहवाको स्कोरलाई गति दिइहरेका थिए।
यस्तोमा विराटनगरका कप्तान पारसका लागि आठौं ओभरमा अंशुमन रथलाई बलिङ गर्न दिने निर्णय घातक सावित बन्यो। अंशुमनले एकै ओभरमा ३६ रन खर्चिएका थिए। उनले सो ओभरमा ३ नो बल र २ वाइड फ्याँकेका थिए। त्यो ओभरमा शरदले ४ छ्क्का र १ चौका हिर्काए। त्यहि महङ्गो ओभरले विराटनगर दबाबमा थियो।
अन्तिम दुई ओभरमा भैरहवालाई जितका लागि मात्र ११ रन आवश्यक थियो, हातमा थियो ६ विकेट। त्यही कठिन समय बलिङमा आए पारस खड्का। १९ औँ ओभरमा बलिङ गरेका पारसले दुई विकेट लिए र मात्र २ रन खर्चिए।
फाइनल खेलको स्कोरबोर्ड यहाँ क्लिक गरेर हेर्न सक्नुहुन्छ ।
पारसको ओभरका कारण अन्तिम ओभरमा पुग्दा भैरहवा दबाबमा आएको थियो। अन्तिम ओभरमा भैरहवालाई जितका लागि ९ रन चाहिएको थियो भने हातमा ४ विकेट बाँकी थियो। आठौं ओभरमा बलर छान्न चुकेका पारसले अन्तिम ओभरमा अनिल साहलाई ल्याए। निर्णय निकै जोखिमपुर्ण थियो। अनिलले प्रतियोगिताको पहिलो खेलमा ४७ रन बनाउनु बाहेक कुनै खेलमा गतिलो प्रर्दशन गर्न सकेका थिएनन्। तर अनिलले अन्तिम ओभरमा कप्तानले दिएको जिम्मेवारी पुरा गरे।
उनले अन्तिम ओभरको पहिलो बलमै चौका खाए। दोस्रो बलमा कृष्ण कार्कीलाई बोल्ड गरे र भैरहवामाथी दबाब बढाए। अनि तेस्रो बल डट फाले। जितका लागि भैरहवालाई ३ बलमा ५ रन आवश्यक थियो। अनिलले चौथो बलमा भुवन कार्कीलाई रन आउट बनाए, भैरहवामाथि थप दबाब बढ्यो।
पाँचौ बलमा अनिलले पुनित मेहरालाई वैकल्पिक खेलाडी रामनरेश गिरीमार्फत क्याच गराए र खेल आफ्नो पक्षमा पारे। अन्तिम बलमा जितका लागि भैरहवालाई ५ रन आवश्यक थियो तर, मात्र ३ रन जोड्न सक्यो।१ सय ५० रनको लक्ष्य पछ्याएको भैरहवाले अन्तिम ओभरमा ३ विकेट गुमाउँदा ९ विकेटको क्षतिमा १ सय ४८ रन मात्र जोड्न सक्यो।
यसरी प्रतियोगिताको एक मात्र अपराजित टोली विराटनगरले इपिएल क्रिकेटको उपाधिमाथि कब्जा जमायो। कप्तान खड्का नै फाइनल खेलका म्यान अफ दि म्याच घोषित भए।
खेलपछि उनले अंशुमानको ओभर क्रिकेटको एउटा पाटो भएको बताए। अंशुमानको ओभरपछि पनि कुल भएर खेल्दा खेल आफ्नो पक्षमा आएको पारसले बताए। उनले भने, 'क्रिकेटमा कहिलेकाँही आफुले सोचेको जस्तो हुन्न। गल्ति भयो भने त्यसलाई सुधार गर्न शान्त हुनुपर्छ । हामीले पनि आज त्यहि गर्यौं । जसले उपाधि चुम्न सफल भयौं। '
भैरहवाका कप्तान शरद अन्तिम तीन ओभरमा दबाबमा आएर खेल्दा हार बेहोरेको स्विकार गर्छन्। 'खेलको अन्त्यतिर हाम्रा ब्याट्सम्यानले दबाब झेल्न सकेनन्,' शरदले भने।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।