काठमाडौं- नेपाली कांग्रेसले राष्ट्रिय जागरण अभियानमा संलग्न केन्द्रीय प्रतिनिधिसँगको छलफल सुरु गरेको छ।
कांग्रेसले पदाधिकारी, पूर्वपदाधिकारी र केन्द्रीय सदस्य सहित जागरण अभियानका केन्द्रीय प्रतिनिधिसंग छलफल गर्न लागेको हो।
छलफल र अन्तर्क्रियाबाट प्राप्त सल्लाह सुझाव पार्टीको सुदृढीकरणका लागि अगामी रणनीति तय गर्न फलदायी हुने विश्वास पार्टी नेतृत्वले लिएको छ।
पार्टी संगठनको सुदृढीकरणका लागि भन्दै कांग्रेसले बैशाख २५ देखि जेष्ठ २५ सम्म ७७ वटै जिल्लामा राष्ट्रिय जागरण अभियन संचालन गरेको थियो। सो अभियानमा पार्टीका तर्फबाट केन्द्रीय प्रतिनिधिका रुपमा जिल्ला गई १ महिना सम्म गरिएको कार्यक्रम, अन्र्तरक्रिया र प्राप्त कार्यकर्ताको धारणाबारे प्रतिनिधिले नेतृत्वलाई जानकारी गराउने छन्। बुधबार पार्टी केन्द्रीय कार्यालय सानेपामा छलफलको उद्घाटन सत्रलाई सम्बोधन गर्दे सभापति शेरबहादुर देउवाले जिल्ला खटिएका केन्द्रीय प्रतिनिधिबाट प्राप्त सुझावबाट पार्टीलाई थप उर्जा मिल्ने विश्वास व्यक्त गरे।
'प्रतिकूल अवस्थामा पार्टी सुदृढीकरणक लागि गर्नुपर्ने राजनीतिक कार्ययोजना के के हुन सक्छन्? पार्टीलाई थप सुदृढ र गतिशिल बनाउनका लागि जिल्लामा के कस्ता समस्या विद्यमान छन्? भन्ने विषयमा सबैले केन्द्रमा बुझाउनुभएको आ आफ्ना प्रतिवेदननमा उल्लेख भएकै होलान्,' उनले भने, 'पार्टीले अबलम्बन गर्नुपर्ने रणनीति, कार्यनीति अनुभवको आधारमा प्रधान गर्ने यस छलफलले दोश्रो र तेश्रो चरणको कार्यक्रमलाई थप प्रभावकारी बनाउन सहयोग पुर्याउने विश्वास मैले लिएको छु।'
राष्ट्रिय जागरण अभियानमा खटिएका केन्द्रीय प्रतिनिधि सिन्धुली जिल्ला सभापति श्याम घिमिरेले स्थानीय कार्यकर्ताले पार्टीमा सैद्धान्तिक सुधारको अपेक्षा राखेको बताए। पार्टीभित्रको अन्तरघात र गुटबन्दीको अन्त्य, समयमा नै भातृसंगठनको अधिवेशन लगायत आन्तरिक सुधारको पनि अपेक्षा कार्यकर्ताले राखेको उनले बताएका थिए।
बिहिबारसम्म चल्ने अन्तरक्रियामा ७७ वटै जिल्लामा खटिएका केन्द्रीय प्रतिनिधिले जिल्लामा भएका गतिविधि, संठनात्मक अवस्था, १ महिने राष्ट्रिय जागरण अभियान अन्र्तगत भएका कार्यक्रम र त्यसबाट प्राप्त परिणामहरुको साथै त्यसले पार्टीलाई पार्ने वर्तमान र दूरगामी असर बारे नेतृत्वलाई जानकारी गराउने छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।