काठमाडौं- कञ्चनपुरको पुर्नवास नगरपालिका-१० को डोकेबजारमा शान्तिपूर्ण रुपमा विरोध गरेका नेपाली कांग्रेसका कार्यकर्तामाथि भएको आक्रमणप्रति कांग्रेसले ध्यानाकर्षण भएको बताएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै ध्यानाकर्षण भएको बताएको हो।
खानेपानी मन्त्री विना मगरको निर्देशनमा नेकपा कार्यकर्ताले असार १० गते आक्रमण गरी नेपाली कांग्रेसका २० जना कार्यकर्ताहरुलाई घाइते बनाएको भन्दै कांग्रस गम्भीर भएको जनाएको हो।
घटनामा नेपाली कांग्रेस कञ्चनपुर-१ का क्षेत्रीय सभापति गोपीप्रसाद उपाध्याय, बेलौरी नगरका नगर सचिव विक्रम चन्द, महाधिवेशन प्रतिनिधि हरेन्द्र विष्ट र नगर प्रमुखका उम्मेदवार तोयप्रसाद शर्मा, पुर्नवास नगरपालिका-२ का सभापति चन्द्रमणि गैर, नेपाल तरुण दलका कृष्णबहादुर चन्दलगायतका व्यक्ति गम्भीर घाइते भएका थिए।
उनीहरुमध्ये गोपीप्रसाद उपाध्याय र विक्रम चन्दलाई काठमाडौँस्थित न्यूरो अस्पताल, बाँसबारीमा उपचारार्थ भर्ना गरिएको छ भने बाँकी रहेका घाइतेहरुको कैलाली स्थित अञ्चल अस्पतालमा उपचार भइरहेको छ।
'शान्तिपूर्ण रुपमा विरोध गर्न पाउने नागरिकको नैसर्गिक अधिकारमाथि वहालवाला मन्त्रीले आफ्ना कार्यकर्ताको प्रयोग गरी सार्वजनिक स्थलमै अवांछित गतिविधि र उद्दण्डता प्रदर्शन गर्नुलाई नेपाली कांग्रेसले गम्भीर रुपमा लिएको छ,' कांग्रेसले भनेको छ, 'अमानवीय क्रियाकलापको नेपाली कांग्रेस घोर निन्दा र भर्त्सना गर्दछ।'
आपराधिक घटनामा संलग्न व्यक्तिहरुको तत्काल खोजी गरी कडा कारबाही गर्न कांग्रेस सरकारसँग माग गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।