काठमाडौं– एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको फाइनलका लागि शनिबार विराटनगर वारियर्स र भैरहवा ग्लाडिएटर्सबीच प्रतिस्पर्धा हुँदैछ। कीर्तिपुरस्थित टियू मैदानमा बिहान ११ बजेदेखि हुने उपाधि भिडन्तमा रोमाञ्चक प्रतिस्पर्धा हुने विराटनगरका कप्तान पारस खड्का र भैहरवाका कप्तान शरद भेषावकरले अपेक्षा गरेका छन्।
इपिएलमा भैरहवा र विराटनगरबीच तेस्रो पटक प्रतिस्पर्धा हुन लागेको हो। फाइनलअघि भएका दुवै प्रतिस्पर्धामा विराटनगर विजयी भएको थियो। विराटनगरले समूह चरणमा ३५ रन तथा पहिलो क्वालिफायरमा ८ विकेटले भैरहवालाई पराजित गरेको थियो।
इपिएलमा एक्लो अपराजित टिम विराटनगरका कप्तान पारसले टिमको फर्मलाई जारी राख्ने बताएका छन्। भैरहवाका कप्तान शरद भने तेस्रो खेलमा जित हात पारेर दुई खेलमा बेहोरेको हारको बदला लिन चाहान्छन्।
फाइनलबारे दुई टिमका कप्तानको भनाइ जस्ताको तस्तै–
पारस खड्का (कप्तान) – विराटनगर वारियर्स
फाइनलमा पुग्ने हाम्रो चाहाना पूरा भएको छ। अब समूह चरण र क्वालिफायरमा देखाएको लयलाई फाइनलमा पनि देखाउनुपर्छ।
उपाधि सजिलै जित्छौं भन्ने लागेको छैन। टी–२० अनि एक खराब दिनले खेलको नजिताले फरक पार्न सक्छ। त्यसैले खेललाई सजिलो लिने पक्षमा छैनौं। फाइनल पुग्नसम्म गरेको मिहिनेतलाई त्यतिकै खेर जान दिदैनौं। राम्रो क्रिकेट खेलरहेका छौं। शनिबार खेल जित्नका लागि सबै उपाय अपनाउनेछौं।
हाम्रो टिमका ब्याट्सम्यानहरु अंशुमान राथ र बाबर हायतले राम्रो ब्याटिङ गरिरहेका छन्। फर्ममा रहेका उनीहरुबाट फाइनलमा पनि यस्तै खेल चाहान्छौं।
शरद भेषावकर (कप्तान) – भैरहवा ग्लाडिएटर्स
प्रतियोगितामा तेस्रो पटक विराटनगरसँग प्रतिस्पर्धा गर्दैछौं। दुई खेल हारेका थियौं। अब राम्रै रणनीति बनाउँछौं। आश्चर्यजनक नतिजा दिने कोसिस गर्छौं। विराटनगरबाट खेलिरहेका हङकङका दुई ब्याट्सम्यानले एकदमै राम्रो ब्याटिङ गरिरहेका छन्। पारसले पनि राम्रो प्रदर्नश गरेका छन्। उनीहरुलाई थोरै रनमा आउट गर्नु नै हाम्रो रणनीति हुनेछ।
दुई वटा उत्कृष्ट टिम फाइनल पुगेका छन्। त्यसलै रोमान्चक फाइनलको अपेक्षा गर्न सकिन्छ। अवश्य पनि हामी उपाधि जित्नका लागि मैदान उत्रनेछौं।
कुन खेलाडीले कस्तो प्रदर्शन गर्यों भन्नु भन्दा पनि खेल जित्नु महत्वपूर्ण कुरा हो। सबै खेलाडीले योगदान दिइरहेका छन्। हरेक खेलमा दुई–तीन जनाले राम्रो खेलेर खेल जितिरहेका छौं। टिममा रहेका एघारै जनाले हरेक खेलमा उत्कृष्ट नै खेल्छन् भन्ने हुँदैन।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।