कीर्तिपुरमा भेटिएको शंकास्पद वस्तु डिस्पोज गरिँदै। तस्बिर- पांगा, कीर्तिपुर फेसबुक पेज।
काठमाडौं– नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले आह्वान गरेको नेपाल बन्दको प्रभाव देशभरि परेको छ। राजधानी काठमाडौंमा सामान्य प्रभाव परे पनि अन्य जिल्लाहरुमा भने प्रभाव देखिएको नेपाल लाइभ सहकर्मीहरुले बताएका छन्।
राजधानी काठमाडौंबाट विभिन्न जिल्ला जाने लामो दूरीका सवारी साधन प्रायः ठप्प छन्। उपत्यकाभित्रै पनि अन्य दिनको तुलनामा न्यून रुपमा सवारी चलेका छन्। विद्यालय, बजार तथा उद्योग, कलकारखानासमेत बन्दको प्रभावमा परेका बताइएको छ। आफ्ना कार्यकर्ताको हत्या तथा पक्राउ गरेको विरोधमा आज विप्लव नेकपाले नेपाल बन्द आह्वान गरेको हो।
यसैक्रममा आज देशका विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएका छन्। देशभर ९ वटा होक्स बम (तर्साउन राखिएको वस्तु), २० ठाउँ शंकास्पद वस्तु, ३ वटा ग्यास सिलिण्डर बम, २ वटा सकेट बम, एउटा सुतली बम, ४ वटा प्रेसर कुकर बम, १ ठाउँमा आगजनी, ४ ठाउँमा तोडफोड, १ ठाउँमा टाइम बम र १ ठाउँ आरसी आइडी बम फेला परेको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
होक्स बम प्युठान, बाग्लुङ, भक्तपुर, सिन्धुपाल्चोक, सिन्धुली, सोलुखुम्बु गरी ९ वटा फेला परेको हो। शंकास्पद वस्तु बझाङ, बर्दिया, मुस्ताङ, मोरङ रामेछाप, रुपन्देही, ललितपुर र स्याङ्जामा गरी २० ठाउँ फेला परेको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
त्यस्तै पाल्पा, बर्दिया र सल्यानमा गरी ३ ठाउँमा ग्यास सिलिण्डर बम फेला परेको छ। मोरङ र बैतडीमा गरी ४ वटा प्रेसर कुकर बम फेला परेका छन्।
बझाङमा विप्लव समूहले आगजनी र तोडफोड गरेको छ।
यस्तै १ ठाउँमा टाइम बम र अर्को एकठाउँ आरसी आइडी बम फेला परेको प्रहरीले जनाएको छ।
अहिलेसम्म बन्द गराउँदै हिँड्ने विप्लव नेकपाका ७ जनालाई नियन्त्रणमा लिइएको प्रवक्ता पोखरेलले नेपाल लाइभलाई जानकारी दिए। नियन्त्रणमा लिइएकामा विनोद सोनार, छविलाल घर्तीमगर, गम्भीर शेर्पाली, विवेक विक, दीर्घराज महत छन्। त्यस्तै, सुकेधाराबाट भागिराज राई बा२ज ३८१७ नम्बरको ट्याक्सीबाट पर्चासहित पक्राउ परेका छन्।
चालक राईको ट्याक्सीबाट चन्दा असुली गर्ने रसिद, अखिल क्रान्तिकारी यातायात मजदुर संघको सदस्य रसिद ५० थान, सोही संघको पर्चा ३ सय थानलगायतका कागजात फेला परेको प्रहरीले जनाएको छ।
उपत्यकामा कीर्तिपुर र ललितपुरको जावलाखेलमा शंकास्पद वस्तु फेला परेको थियो । किर्तिपुरको नयाँबजारको गेट छेउमा बिहान ५ बजेको समयमा रातो झण्डाले बेरिएको भित्र बोतलजस्तो देखिने शंकास्पद वस्तु भेटिएको र सो वस्तु बम नभएको प्रमाणित भएको प्रहरीले जनाएको छ।
यस्तै शंकास्पद वस्तु जावालाखेलमा पनि भेटिएको भए पनि सो वस्तु बम नभएको प्रहरीले स्पष्ट पारेको छ। विभिन्न स्थानमा शंकास्पद वस्तु भेटिएपछि देशभर सुरक्षाव्यवस्था कडा बनाइएको छ। सोमबार रात्री सेवा तथा मंगलबार बिहान छुटेका लामो दूरीका सवारीसाधनलाई स्कर्टिङ गरी गन्तव्यमा पुर्याउने काम भइरहेको पनि प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।