बुटवल- प्रदेश ५ सरकारले प्रादेशिक योजना आयोगको उपाध्यक्षमा प्राध्यापक डा ईश्वर गौतमलाई नियुक्ति गरेको छ।
प्रदेश ५ को मन्त्रिपरिषद् बैठकले योजना आयोगको उपाध्यक्षमा गौतमलाई नियुक्ति गरेको हो। यसअघि प्रदेश योजना आयोगका उपाध्यक्ष रहेका डा प्रकाश श्रेष्ठ नेपाल राष्ट्र बैंकको कार्यकारी निर्देशकमा बढुवा भएपछि गत जेठ १४ गते आफ्नो पदबाट राजीनामा दिएका थिए।
उनले दिएको राजीनामा सोही मितिदेखि नै लागू हुनेगरी स्वीकृत गर्दै प्रदेश योजना आयोगको उपाध्यक्षमा बुटवल निवासी गौतमलाई नियुक्ति गरिएको प्रदेश सरकारका प्रवक्ता, भौतिक पूर्वाधार तथा विकासमन्त्री बैजनाथ चौधरीले जानकारी दिए।
त्यस्तै, मन्त्रिपरिषद् बैठकले दाङको लमही नगरपालिकामा प्रादेशिक ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको छ।
लमही नगरपालिकाले उपलब्ध गराएको राजमार्ग छेवैको जग्गामा सरकारले प्रादेशिक ट्रमा सेन्टर निर्माण गर्ने निर्णय गरेको हो। प्रदेश ५ मा सबैभन्दा बढी दुर्घटना हुने क्षेत्र भएकाले लमहीमा ट्रमा सेन्टर निर्माणको निर्णय गरिएको प्रवक्ता चौधरीले बताए।
मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा प्रवक्ता चौधरीले 'सुशासनको प्रत्याभूति गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक' प्रदेशसभामा पेस गर्नका लागि स्वीकृति समेत दिइएको जानकारी दिए।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा एक सुशासन व्यवस्थापन केन्द्र रहने र प्रदेश सरकारका मन्त्रालय, निर्देशनालय, सरकारको पूर्ण वा आंसिक स्वामित्व भएका सार्वजनिक संस्थाहरुबाट सम्पादन हुनु पर्ने कामहरु नियमित र प्रभावकारी रुपमा सम्पादन भए-नभएको विषयमा सूचना संकलन गर्ने, नियमित र प्रभावकारी नभएको पाइएमा त्यस्तालाई कारबाही गर्ने तथा राम्रो काम गर्नेलाई पुरस्कृतसमेत गरिने गरी उक्त विधेयक निर्माण गरिएको उनले जानकारी दिए।
विधेयक पारित भएपछि केन्द्रले प्रदेशमा भ्रष्टाचार र अनियमितता नियन्त्रण, सेवा प्रवाह र सुशासन सुधारका विषयमा अपनाउनु पर्ने नीति तथा रणनीति र त्यससम्बन्धी कानुनमा सुधार गर्नुपर्ने कुराहरुलाई समेटेर प्रतिवेदन तयार गर्नेछ। प्रदेश मातहत हुने सेवा प्रवाहमा ढिलासुस्ती अनियमितता तथा कार्यक्रम वा आयोजना सञ्चालनमा अनियमितता वा भ्रष्टाचार हुनसक्ने स्थानमा नियमित निगरानी, छड्के जाँचका कार्यहरु समेत केन्द्रले गर्नेछ।
त्यस्तै, मन्त्रिपरिषद्को बैठकले दाङको घोराही उपमहानगरपालिका र चीनको सिचुवान प्रान्तको यान नगरपालिका तथा बर्दियाको ठाकुरबाबा नगरपालिका र चिनको यान नगरपालिका र चिनकै गुइझाउ प्रान्तको लिउ मानसुई नगरपालिकासँग भगिनी सम्बन्ध स्थापनाका लागि संघीय सरकारलाई सिफारिस गर्ने निर्णयसमेत गरेको छ।
भगिनी सम्बन्ध स्थापना भएपछि दुई नगरपालिकाबीच आपसमा विकास तथा सांस्कृतिक अनुभव आदानप्रदान हुने प्रवक्ता चौधरीले जानकारी दिए।
त्यस्तै, रुपन्देहीको सैनामैना नगरपालिकामा जेष्ठ नागरिक तथा अपांगता भएका नागरिकका लागि ग्राम स्थापना गर्ने निर्णय भएको छ। त्यसका लागि नगरपालिका आफैंले जग्गाको व्यवस्थापन गर्नुपर्ने र बजेटको व्यवस्थापन सामाजिक विकास मन्त्रालयले गर्ने प्रवक्ता चौधरीले जानकारी गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।