मेलवर्न– इंग्ल्यान्डका ब्याट्सम्यान अलास्टायर कुक टेस्ट क्रिकेटमा बढी रन प्रहार गर्ने खेलाडीको सूचीको छैटौं स्थानमा उक्लिएका छन्। कुकले मेलवर्नमा भइरहेको एसेस सिरिजको चौथो खेलमा दोहोरो शतक प्रहार गर्दै वेस्ट इन्डिजका ब्याट्सम्यानद्वय ब्रायन लारा र शिवनारायण चन्द्रपाउलाई पछि पारेका हुन्।
कुक चौथो टेस्टको तेस्रो दिनको खेल सकिदा २ सय ४४ रन बनाएर खेलिरहेका छन्। उनले ४ सय ९ बल खेल्दा २७ चौका प्रहार गरिसेका छन्। योसँगै उनले टेस्ट क्रिकेटमा ११ हजार ९ सय ५६ रन पूरा गरे। लाराले १ सय ३१ खेल खेलेर ११ हजार ९ सय ५३ रन जोडेका थिए। चन्द्रपाउलले ११ हजार ८ सय ६७ रन प्रहार गरेका थिए।
टेस्टमा बढी रन प्रहार गर्ने सूचीमा कुक छैटौं स्थानमा छन्। लारा सातौं स्थानमा झरेका छन् भने चन्द्रपाउल आठौं स्थानमा पुगेका छन्।
दोहोरो शतकसँगै कुकले टेस्टमा शतक संख्या ३२ पुर्याएका छन्। कुकको शतकसँगै इंग्ल्यान्डले पहिलो इनिङमा १ सय ६४ रनले अग्रता लिएको छ। इंग्ल्यान्डले दिनको खेल सकिदा ९ विकेट गुमाएर ४ सय ९१ रन जोडेको छ। यसअघि अस्ट्रेलिया पहिलो इनिङमा ३ सय २७ रनमा आउट भएको थियो। अस्ट्रेलियाका लागि डेभिड वार्नरले १ सय ३ रन बनाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।