भैरहवा- प्रधानमन्त्री रोजगार कार्यक्रमका एक अधिकृत सामूहिक बलात्कारको आरोपमा पक्राउ परेका छन्। असार २ गते राती रुपन्देही जिल्ला गैडहवा गाउँपालिकाका २२/२३ वर्षीया २ जना युवतीको सामूहिक बलात्कारको आरोपमा उनी पक्राउ परेका हुन्।
पीडितले रुपन्देहीको गैडहवा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रमका संयोजकको रुपमा कार्यरत जीवन ज्ञवालीसहितले सामूहिक रुपमा बलात्कार गरेको भन्दै प्रहरी कार्यालमा जाहेरी दर्ता गराएपछि उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ।
जाहेरीमा दिइएको घटना विवरण अनुसार असार २ गते राती गिता (परिवर्तित नाम), अन्जली (परिवर्तित नाम) र विष्णु थारु एक होटलमा बसेर मदिरासहित खाजा खाइरहेका थिए। खाजा खाइसकेपछि तीनै जना घर फर्किने क्रममा दुवै युवतीको सामूहिक बलात्कार भएको इलाका प्रहरी कार्यालय लुम्बिनीका प्रहरी निरीक्षक शंकर पोखरेलले जानकारी दिए।
उनीहरुसँग खाजा खाएका विष्णु थारुले अन्य युवाहरु बोलाएर आफूहरुमाथि सामूहिक बलात्कार गरेको पीडित पक्षको आरोप छ।
युवाहरुले सामूहिक बलात्कार गरिरहेको क्रममा अन्जली भागेर छेउको हसनापुर गाउँमा गुहार मागेकी थिइन्। प्रधानमन्त्री रोजगार कार्यक्रमका गैडहवा संयोजकसमेत रहेका स्थानीय ज्ञवालीसहित ५ जना युवा उद्धारका लागि बाहिर निस्किएका थिए।
तर, उद्धारका लागि आएका ज्ञवालीसहितका युवाले उल्टै आफूहरुमाथि बलात्कार गरेको भन्दै प्रहरी कार्यालयमा जाहेरी दर्ता गराएका छन्।
जाहेरी दर्ता गरी रोजगार कार्यक्रम संयोजक जीवन ज्ञवालीलाई पक्राउ गरेर घटनाको अनुसन्धान अगाडी बढाएको प्रहरी निरीक्षक पोखरेलले बताए। अर्का युवा विष्णु थारुका साथै घटनामा संग्लन अधिकांश युवाहरु फरार छन्।
घटनाका मुख्य अभियुक्त भनिएका विष्णु थारुका बुबा कल्लु थारु नेकपाका स्थानीय नेता हुन्। उनकै संग्लनतामा युवाहरु भगाइएको भन्दै गाउँलेले आक्रोश व्यक्त गरेपछि उनले तीन दिनभित्र छोरालाई प्रहरी कार्यालयमा उपस्थित गराउने प्रतिबद्धता जनाएको बताइएको छ।
सुरुमा सहमतिमा मदिरासहितको खाजा खाएर घर फर्किन लागेपछि विष्णु थारुसहितका युवाले सामूहिक बलात्कार गरेको पीडित युवतीको भनाई उद्धत गर्दै गैडहवा गाँउपालिका ९ का वडा अध्यक्ष टेकबहादुर बलालले बताए।
सामूहिक बलात्कारपछि दुवै युवतीको स्वास्थ्य परीक्षण गरी उपचार गरिएको छ। उनीहरुको स्वास्थ्य अवस्था अहिले सामान्य रहेको प्रहरीले जनाएको छ।
गैडहवा गाउँपालिका अध्यक्ष बच्चुलाल केवटले गाउँपालिकामा कार्यरत अधिकृत जबरजस्ती करणी मुद्दामा पक्राउ परेको पुष्टि गरे। उनले युवतीमाथि भएको बलात्कारका घटनामा संलग्न सबैलाई कारबाहीको दायरामा ल्याउनका लागि आफूले पहल थाल्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।