मेलम्ची (सिन्धुपाल्चोक)- इटालियन ठेकेदार कम्पनी सिएमसीले काम छाडेको ६ महिनापछि मेलम्ची खानेपानी आयोजनाको अवरोध हटेको छ। स्थानीय ठेकेदार, मजदुर तथा आयोजनाबीच आज भएको छलफलले २ वटा सहमति गरेसँगै निर्माण कार्यमा हुँदै आएको अवरोध आजैबाट हटेको हो।
सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारीको समन्वयमा आज छलफल भएको थियो। उक्त छलफलले समस्या समाधानका लागि समिति बनाएको छ भने समितिले तयार पारेको प्रतिवेदन मन्त्रिपरिषद्सम्म पुर्याई समस्या समाधानको पहल गर्ने निर्णय गरेको छ।
जिल्ला समन्वय समितिको प्रमुख कृष्णगोपाल श्रेष्ठ संयोजक रहेको समितिमा स्थानीय ठेकेदारहरु किरण थापा, शिवराम भट्टराई, कामदारका तर्फबाट देवी अधिकारी र बुद्धिकृष्ण लामिछाने, पत्रकार महासंघबाट महेश श्रेष्ठ, उपेन्द्र तमाङ, मेलम्ची खानेपानी आयोजनाका एक र मेलम्ची नगरपालिका र हेलम्बु गाउँपालिकाका प्रतिनिधि छन्।
उक्त समितिले असार २० गतेसम्म प्रतिवदेन तयार गर्ने र २२ गते खानेपानी बोर्डमा पेस गर्ने सहमति भएको संयोजक श्रेष्ठले जानकारी दिए। उक्त प्रतिवेदन पारित गरेर खानेपानी मन्त्रालय हुँदै मन्त्रिपरिषद्मा लैजाने सहमति भएको छ।
स्थानीयवासी लगायत निर्माण व्यावसायीहरु डेढ अर्ब भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनमा थिए। इटालियन निर्माण कम्पनी सिएमसीले काम छाडेर गएपछि उनीहरुले रकम पाएका छैनन्। सोही विषयलाई लिएर मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको श्रेष्ठ कन्ट्रक्सन कम्पनीका कामदारलाई उनीहरुले केही दिनअघि अवरोध गरी फर्काइदिएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।