मेलम्ची (सिन्धुपाल्चोक)- स्थानीयवासी र ठेकेदारको विरोधपछि रोकिएको मेलम्ची खानेपानी आयोजनाको अवरोध हटाउन अहिले निर्माणस्थलमा वार्ता चलिरहेको छ।
स्थानीयवासी लगायत निर्माण व्यावसायीहरु डेढ अर्ब भुक्तानी पाउनुपर्ने माग राखेर आन्दोलनरत छन्। इटालियन निर्माण कम्पनी सिएमसीले काम छाडेर गएपछि उनीहरुले रकम पाएका छैनन्।
सोही विषयलाई लिएर मेलम्ची खानेपानी आयोजनाको ठेक्का प्राप्त गरी काम गर्न पुगेको कम्पनीलाई स्थानीय ठेकेदारले फर्काइदिएका थिए। खानेपानी आयोजनाको मुहान क्षेत्रमा काम गर्न आएको श्रेष्ठ कन्ट्रक्सनका कामदारलाई उनीहरुले फर्काइदिएका हुन्।
अहिले वार्तामा स्थानीयवासी र ठेकेदार, प्रमुख जिल्ला अधिकारी आयोजना प्रमुख सूर्य कँडेल लगायत छन्।
सरकारले मुहानको हेडबक्स लगायतका अन्य काम गर्ने जिम्मा टेन्डरबिनै श्रेष्ठ कन्ट्रक्सनलाई दिएको थियो। कामको जिम्मा पाएपछि कम्पनी कामदार बोकेर मेलम्चीको मुहान पुगेको थियो। तर स्थानीयले आयोजनामा आफूहरुको डुबेको रकम पहिला भुक्तानी दिएपछि मात्र काम सुचारु गर्नु पर्ने नत्र अवरोध हुने चेतावनी दिएपछि श्रेष्ठ कन्ट्रक्सनका कर्मचारी र कामदार फर्केका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।