काठमाडौं- एभरेस्ट प्रिमियर लिग (इपिएल) क्रिकेट प्रतियोगिताको दोस्रो क्वालिफायर खेलमा ललितपुर प्याट्रिओट्सले भैरहवा वारियर्सलाई १ सय ३३ रनको लक्ष्य दिएको छ।
कीर्तिपुरस्थित टियू मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको ललितपुरले २० ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रन जोड्यो।
ललितपुरका लागि ओपनर जयकिशन कोल्सावाला ४२ रनमा आउट भए। उनले ३७ बलमा ५ चौका र २ छक्का हिर्काए। अर्का ओपनर शंकर राना १२ रनमा रनआउटको सिकार बने। उनले २६ बलमा १ चौका मात्र प्रहार गर्न सके।
सनी पटेलले २४ रनको योगदान दिए। उनले १८ बलमा २ चौका र १ छक्का हिर्काए। कुशल भुर्तेल खाता नै खोल्न नपाई पेभिलियन फर्के। कप्तान ज्ञानेन्द्र मल्ल २० रनमा आउट भए। अन्तिम ओभरमा दिपेश भन्डारीले २ चौका र २ छक्का प्रहार गरेर २२ रनको योगदान गरे। सोनु तामाङले नटआउट १० रनको योगदान दिए।
खेलको विजेताले उपाधिका लागि विराटनगर वारियर्ससँग शनिबार प्रतिस्पर्धा गर्नेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।