काठमाडौं- तेस्रो दक्षिण एसियाली अन्तर्राष्ट्रिय कराते तथा किकबक्सिङ च्याम्पियनसिप प्रतियोगिता आजबाट भारतको नयाँ दिल्लीमा हुँदैछ।
प्रतियोगितामा नेपालको तर्फबाट जापान गोजुरियो कराते डु मिसन संघ नेपालमा आबद्ध खेलाडीहरुले प्रतिस्पर्धा गर्नेछन्। च्याम्पियनसिपमा भाग लिन २० खेलाडीसहीत २७ जनाको नेपाली राष्ट्रिय टोली टोली दिल्ली पुगिसकेको नेपाली टिमका संयोजक उमेश थापा लाटो मगरले जानकारी दिए।
प्रतियोगितामा १२ वर्ष उमेर समूहमा शाहिल गुरुङ (२५ केजी तर्फ), प्रियंका थापा (४० केजी), प्रशान्त थापा (३० केजी) र प्रसुन शाही (३५ केजी) ले प्रतिस्पर्धा गर्नेछन्।
१४ वर्ष उमेर समूहमा विपिन गुरुङ (३५ केजी), कृतिमा गौतम (४० केजी), रिजन पाण्डे (४० केजी), शिवम बस्नेत (५० केजी) र एलिसा घिमिरे (४० केजी) रहेका छन्। यसैगरी १७ वर्ष उमेर समूहमा प्रतिस्पर्धा गर्ने खेलाडीहरुमा रोशन राना (५० केजी), सुमन परियार (६० केजी), कनिश्क राना (५५ केजी), सिबानी बस्नेत (४५ केजी) , विपना जिएम (५५ केजी) र सुष्मा पाण्डे (५० केजी) छन्।
१९ वर्षमुनि ७० केजी तौल समूहमा मेखबहादुर घर्तीले प्रतिस्पर्धा गर्ने भएका छन्।
सिनियरतर्फ खुल्ला उमेर समूहमा राजकुमार हरिजन (४५ केजी), विपीन राना (५० केजी), सन्तु चौधरी (५५ केजी) र सञ्जय चौधरी (७० केजी) रहेका छन्। रानाका अनुसार खेलाडीहरुले एकल काता, पुमिते र टिम काता र टिम कुमिते तथा किक बक्सिङमा प्रतिस्पर्धा गर्नेछन्।
प्रतियोगितामा नेपालसहित भारत, बंगलादेश, श्रीलंका, भुटान, मालदिभ्सका खेलाडी सहभागी हुनेछन्। प्रतियोगिता दिल्लीको तालकोट इन्डोर स्टेडियममा दिउँसो १२ बजेबाट सुरु हुने नेपाली टिमका मुख्य प्रशिक्षक तथा जापान गोजुरियो कराते डु मिसन संघ नेपालका अध्यक्ष एवं संस्थापक केबी राना (काजी) ले बताए।
टिममा संयोजकका रुपमा जापान गोजुरियो कराते डु मिसन संघ रुपन्देहीका अध्यक्ष उमेश थापा मगर, व्यवस्थापकमा केन्द्रीय सचिव गिरिप्रसाद पुन र सहायक व्यवस्थापकमा केन्द्रीय सदस्य भीमसेन थापा रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।