नेपालगन्ज- दोस्रो राष्ट्रिय जुनियर एथलेटिक्स प्रतियोगिता बाँकेको सीतापुरस्थित शुक्र माविमा सुरु भएको छ।
प्रतियोगिता अन्तर्गत भएको पुरुषतर्फको एक हजार ५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलका माधव चौधरी प्रथम भएका छन्। उनले ४ मिनेट २७ सेकेन्ड एक पल्समा दौड पूरा गरी प्रथम हुँदा मध्यमाञ्चलका सुभाष थापा ४ मिनेट २७ सेकेन्ड ४ पल्समा दुरी पूरा गरी दोस्रो भए। उक्त खेलमा सुदूरपश्चिमाञ्चलका सुनिल सुनार ४ मिनेट २७ सेकेन्ड ८ पल्समा दुरी पूरा गरी तेस्रो भए।
महिलातर्फको १५ सय मिटर दौडमा मध्यपश्चिमाञ्चलकी चन्द्रा घर्ती प्रथम भइन्। उनले ६ मिनेट ३५ सेकेन्ड ४ पल्समा दुरी पार गरिन् भने पश्चिमाञ्चलकी सुस्मिता भट्टराईले ६ मिनेट ४३ सेकेन्ड ६ पल्समा दुरी पार गरी दोस्रो भइन्। सुदूरपश्चिमाञ्चलकी रेखा चन्दले ६ मिनेट ५२ सेकेन्डमा निर्धारित दुरी पार गरी तेस्रो स्थान लिइन्।
पुरुषतर्फको ४ सय मिटर दौडमा सुदूरपश्चिमाञ्चलका केशर रावल प्रथम, सुदूरपश्चिमकै राजेशबहादुर चौधरी दोस्रो र मध्यमाञ्चलका छिरिङ लामा तेस्रो भए।
महिलातर्फको ४ सय मिटर दौडमा पश्चिमाञ्चलकी कल्पना श्रेष्ठ प्रथम भइन् भने मध्यपश्चिमाञ्चलकी पूजा चौधरी दोस्रो र सुदूरपश्चिमाञ्चलकी अनिता भुल तेस्रो भइन्।
शटपुट महिलातर्फको खेलमा पश्चिमाञ्चलकी सुमित्रा थापा प्रथम भएकी छन्। उनले ८ दशमलव ४५ मिटर रेकर्ड राख्दा पश्चिमाञ्चलकी अस्मिता शेर्पाली दोस्रो र सुदूरपश्चिमकी मिना धामी तेस्रो भइन्। शेर्पालीले ८ मिटर ४३ मिटर पर फालिन् भने धामीले ८ दशमलव १४ मिटर दुरी फाल्न सफल भइन्।
पुरुषतर्फको लङजम्पतर्फ मध्यमाञ्चलका भुवन महतो प्रथम, मध्यपश्चिमाञ्चलका सुशील केसी दोस्रो र पूवाञ्चलका सुरज माझी तेस्रो भएको आयोजक बाँके जिल्ला एथलेटिक्स संघले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।