न्युकासल– इंग्लिस प्रिमियर लिगमा म्यानचेस्टर सिटीले विजयी यात्रा जारी राखेको छ। सिटीले बुधबार राति भएको खेलमा न्युकासल युनाइटेडलाई १–० ले पराजित गरेको हो।
जितपछि सिटीले दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडसँग १५ अंकको अग्रता लिएको छ। सिटीको जितमा एक मात्र निर्णायक गोल रहिम स्टर्लिङले खेलको ३१ मिनेटमा गरेका थिए। उनले केभिड डे ब्रुइनले उपलब्ध गराएको पासमा गोल गरेका थिए। त्यसअघि अर्जेन्टिनी फरवार्ड सर्जियो अग्योरोले हानेको दुई प्रहार पोस्टमा लागेको थियो।
जितपछि सिटीका प्रशिक्षक पेप ग्वार्डिओलाले रक्षात्मक खेल खेल्ने टिमसँग प्रतिस्पर्धा गर्न गाह्रो हुने बताए। खेलमा सिटीले ७८ प्रतिशत बल नियन्त्रणमा लिँदा २१ प्रहार गरेको थियो।
जितपछि शीर्ष स्थानको सिटीले २० खेलबाट ५८ अंक जोडेको छ। दोस्रो स्थानको म्यानचेस्टर युनाइटेडको ४३, तेस्रो स्थानको चेल्सीको ४२, चौथो स्थानको लिभरपुलको ३८ र पाँचौ स्थानको टोटनह्यामको ३७ अंक छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।