काठमाडौं– सत्ता गठबन्धनका दलहरुबीच सिट फाँडफाँटको कसरत चलिरहँदा सकस देखिएको एक क्षेत्र हो- मकवानपुर २। २०७४ को निर्वाचनमा यस क्षेत्रबाट तत्कालीन एमाले उम्मेदवार विरोध खतिवडाले कांग्रेस उम्मेदवार महालक्ष्मी उपाध्यक्ष डिनालाई पराजित गरेका थिए। त्यतिबेला खतिवडाले ४६ हजार ४८१ मत पाउँदा उपाध्यायले ३४ हजार ९० मत पाएकी थिइन्। त्यतिबेला एमाले र माओवादी केन्द्रले वामगठबन्धन बनाएर चुनावमा होमिएका कारण खतिवडाले सहज जित निकालेका थिए।
नेकपा एकीकृत समाजवादीका प्रभावशाली नेता मात्रै होइन, २०४८ सालदेखि निरन्तर सांसद रहँदै आएका छन्, खतिवडा। अर्कोतिर, उपाध्याय पनि पार्टीको चौधौँ महाधिवेशनबाट सहमहामन्त्री निर्वाचित भएकी छिन् र समानुपातिक प्रणालीबाट सांसद नबन्ने अडानमा छिन्। दुवैको निर्वाचन क्षेत्र एउटै भएकाले पनि कसरी भागबण्डा मिल्छ भन्ने अन्यौल अद्यापि छ।
खतिवडा र उपाध्यायबीचको प्रतिस्पर्धा अहिलेको मात्रै होइन, २०४८ देखिको हो। अहिले एउटै क्षेत्रबाट को उम्मेदवार बन्ने भनेर प्रतिस्पर्धामा लागेका उनीहरु २०४८ वैशाखमा सम्पन्न आम निर्वाचनमा भने आपसमै प्रतिस्पर्धा गरका थिए। एमाले उम्मेदवार खतिवडाले कांग्रेस उम्मेदवार उपाध्यायलाई नै मकवानपुर-२ मै पराजित गरेर आफ्नो संसद् यात्रा सुरु गरेका थिए। त्यतिबेला खतवडाले १६ हजार ९६९ मत पाएका थिए। उपाध्यायले भने ११ हजार ५७६ मत माए पाइन्।
२०५१ को मध्यावधि निर्वाचनमा खतिवडाको निकटतम प्रतिस्पर्धी बने, राप्रपाका कमल थापा। त्यस निर्वाचनमा खतिवडाले १६ हजार १५४ मत पाउँदा थापाले ११ हजार ८७८ मत मात्रै पाएका थिए। २०४८ सालको निकट प्रतिस्पर्धी उपाध्याय भने ३७९२ मतसहित चौथो हुन पुगिन्।
२०५६ मा पनि खतिवडा मकवानपुर-२ बाटै विजयी भए। उनले राप्रपा उम्मेदवार दीपक सिंह लामालाई पराजित गरेका थिए। खतिवडाले १८ हजार २८१ मत पाउँदा सिंहले १५ हजार ९०१ मत पाएका थिए। यो निर्वाचनमा भने उपाध्याय उम्मेदवार बनिनन्।
२०६४ र २०७० मा सम्पन्न दुवै संविधान सभा निर्वाचनमा खतिवडाले टिकट नै पाएनन्।
लामो समयदेखि एमालेबाट सांसद रहँदै आएको, संसद्को पूर्ण बैठक तथा संसदीय समितिमा सक्रिय भूमिका निर्वाह गरेका कारण चर्चामा रहँदै आएका भए पनि खतिवडाले मन्त्री बन्न भने पार्टी विभाजन नै पर्खिनुपर्यो। २०७८ भदौमा भएको एमाले विभाजन भएर गठन भएको एकीकृत समाजवादीको तर्फबाट २०७८ असोज २२ देखि २०७९ असार १२ गतेसम्म स्वास्थ्य तथा जनसंख्या मन्त्री भएका थिए।
[समानुपातिक प्रणालीबाट पटकपटक सांसद बन्नेहरुको जति चर्चा हुन्छ, प्रत्यक्षतर्फ सांसद बन्नेहरुको खासै हुँदैन। हुन त, व्यक्तिगत रुपमै लोकप्रिय नेता जनताबाट प्रत्यक्षरुपमा जति पटक अनुमोदन भए पनि के फरक पर्छ र? भन्ने बहस पनि हुने गरेको छ, तर दुवै प्रणालीबाट निर्वाचित हुनेहरु पार्टीगत लोकप्रियता भन्दा धेरै पर भने नहुने स्पष्टै छ। प्रत्यक्ष प्रणालीबाट एउटै व्यक्ति कति पटक सांसद बन्ने? यही बहसलाई सघाउ पुगोस् भनेर यो शृंखला सुरु गरेका छौँ। यसअन्तर्गत हामी २०४८ मै सांसद भइसकेका र अहिले पनि सांसद बन्ने प्रयत्नमा रहेका नेताहरुको विषयमा चर्चा गर्नेछौँ]
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।