काठमाडौं– बिहीबारको नेपाली कांग्रेस केन्द्रीय समिति बैठकमा प्रधानमन्त्री शेरबहादुर देउवाले हतियार खरिद नहुने भनि दाबी गरिरहँदा उक्त खरिदमा जोडिएका भनिएका दीपक भट्टको नौ वर्ष पुरानो भिडियो नै सार्वजनिक भएको छ।
कान्तिपुर टेलिभिजनबाट बिहीबार प्रसारित उक्त भिडियोमा भट्टले हतियार खरिद गराउन नेपाल, भारतदेखि सत्ता पक्ष र प्रतिपक्ष सबै मिलाउने भनिरहेका छन्।
उनले संसदको सार्वजनिक लेखा समिति र राज्य व्यवस्था समितिले अलि अलि किचकिच गर्ने र अरु आफूले मिलाउने भनेका छन्। सरकार, संसद्, विपक्षी दल नेकपा एमालेका नेतादेखि भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसम्मको नाम उनले लिएका छन्।
आर्थिक संकटको अवस्थामा प्रहरीलाई ८४ करोड रुपैयाँको हतियार खरिद हुन लागेको भनि सार्वजनिक आलोचना भइरहेको छ। सरकारले इटालीको एक कम्पनीसँग हतियार खरिद गर्ने तयारी गरेको सार्वजनिक भएको थियो। विवाद संसददेखि सत्ता पक्ष नेपाली काग्रेसको केन्द्रीय समिति बैठकसम्म पुगिरहेका बेला उनको भिडियो नै सार्वजनिक भएको हो।
सरकारले हतियार खरिदका लागि रकमान्तर गरेपछि यसको रहस्य सार्वजनिक भएको थियो।
सम्बन्धित समाचार
आर्थिक संकटका बेला प्रहरीका लागि ‘फेजआउट’ हतियार किन्दै सरकार, कमिसनको आशंका
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।