काठमाडौं- सभामुख अग्निप्रसाद सापकोटाले संघीय संसद्को अधिवेशन अन्त्य गर्नेबारे प्रधानमन्त्रीले आफूसँग कुनै परामर्श नगरेको बताएका छन्। सोमबार सिंहदरबारस्थित आफ्नै कार्यकक्षमा सञ्चारकर्मीसँगको कुराकानीमा उनले अधिवेशन अन्त्यका सम्बन्धमा छोटो प्रतिक्रिया दिएका हुन्।
‘संसद्को अधिवेशन अन्त्य गर्ने विषयमा मसँग कुनै सल्लाह भएको थिएन,’ सभामुखको भनाइ थियो।
अधिवेशन सुरु र अन्त्य गर्ने विषयमा प्रधानमन्त्रीले सभामुख वा राष्ट्रियसभा अध्यक्षसँग परामर्श गर्नुपर्ने प्रावधान छैन। तैपनि, यसअघि परामर्श गर्ने प्रचलन भने थियो। तर, सापकोटा सभामुखमा निर्वाचित भएदेखि नै दुईबीच सहज सम्बन्ध छैन। जसका कारण प्रधानमन्त्रीले सभामुखलाई थाहै नदिई अधिवेशन अन्त्त्य गर्दै आएका छन्। सापकोटा सभामुखमा निर्वाचित भएपछिका सबै अधिवेशन ओलीले आफूखुसी अन्त्य गरिदिएका छन्।
सोमबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले चालु अधिवेशन अन्त्यको सिफारिस गरेको थियो। जसअनुसार अपराह्न १ बजेदेखि लागू हुनेगरी राष्ट्रपति विद्यादेवी भण्डारीले अधिवेशन अन्त्य गरिसकेकी छिन्।
पुस ५ मा विघटन गरिएको प्रतिनिधिसभा गत फागुन ११ गते सर्वोच्चको फैसलामार्फत ब्युँतिएको थियो। गत चैत ३० गतेसम्म नाै वटा बैठक बसेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।