म जे गर्दैछु, केपी ओलीले कुनै बेला सिकाएको कुरा नै गर्दैछु : योगेश भट्टराई [भिडियो वार्ता]

Nepal Live

केही दिनअघिको संसद बैठकमा सत्ताधारी दलकै नेता माधव नेपालले सरकारको कार्यशैलीको चर्को आलोचना गरे, स्थायी समिति सदस्यलाई चिया खुवाए। अहिले पार्टी विधि र प्रक्रियाबाट नचलेको र नेतृत्व तहमै विश्वासको संकट देखिएको नेकपाभित्रका नेताहरुले बताउन थालेका छन्। ट्विटरदेखि पत्रपत्रिकासम्ममा यस किसिमको बहस तन्किएको छ। हामीले नेकपा स्थायी समिति सदस्य योगेश भट्टराईलाई सोधेका छौं- वाम विमानमा निरन्तर किन गडबडीहरु देखिइरहेका छन्?

मंगलबार नेपाल लाइभका किशोर दहालले भट्टराईसँग गरेको लामो कुराकानीको केही अंश यहाँ प्रस्तुत छ। विस्तृत कुराकानीका लागि तपाईंले भिडियो हेर्न सक्नुहुनेछ।

पार्टी एकीकरण भएकै दिनदेखि वरियतालाई लिएर झलनाथ खनाल असन्तुष्ट। गोविन्द केसीलाई भेटेपछि नारायणकाजी श्रेष्ठले प्रवक्ताबाटै राजीनामा दिनुपर्‍यो। विधि प्रक्रिया मिचियो भनेर अहिले माधव नेपाल असन्तुष्ट। वाम विमानका चक्का, ढोका तथा पखेटा सबैतिर यसरी क्रमश गडबडी देखिँदै गएको छ। किन यस्तो भइरहेछ?
वाम विमानमा कुनै गडबडी छैन। विमानको इन्जिन सबै ठीक छ। सबै आफ्नोआफ्नो पोजिसनमा छन्। र, अत्याधुनिक विमान हो। यसले जसरी उडान भर्छ, यसभित्रका यात्रुलाई सकुशल, मनोरञ्जनका साथ पुग्नुपर्ने ठाउँमा पुर्‍याउँछ। यो विमानको क्याप्टेन हुनुहुन्छ, सहक्याप्टेन हुनुहुन्छ, अरु सदस्य हुनुहोला। यो उडान भर्नुभन्दा पहिले कसरी सकुसल गन्तव्यमा पुर्‍याउने भन्ने बारेमा पूर्व तयारी र छलफलमा जुटेका हौं। त्यसक्रममा अनेक धारणाहरु सार्वजनिक भएका छन्। नेताहरुका आफ्नोआफ्नो धारणाहरु छन्। पार्टी भनेको एउटा राजनीतिक संस्था हो, धार्मिक संस्था होइन।

धार्मिक संस्थामा श्रीश्रीश्रीवाला महाराजले भनेपछि अरु सबैले त्यही कुरा मान्नुपर्छ। उहाँले प्रवचन दिएपछि सकिन्छ। राजनीतिक दलमा त्यस्तो हुँदैन। यहाँ पदीय हिसाबले मात्रै मान्छे तल र माथि हुन्छ। नत्र हरेक मान्छे समान हुन्छ। त्यसैले नै आधुनिक समाजले राजनीतिक दलको परिकल्पना गरेको हो। सबै मान्छे समान हुन्छन् भन्ने हाम्रो मान्यता हो, त्यसको अभ्यास गर्ने थलो राजनीतिक दल हो।

राजनीतिक दलभित्र मानिसहरुले विभिन्न ढंगले छलफल, अन्तर्क्रिया गर्छन्, विमती र सहमतिहरु राख्छन्। अघि तपाईंले लिएका नामहरु यही प्रक्रियामा आएका समस्याहरु हुन्। यसो भनेर हामी अताल्लिएर, पार्टी नै बन्द गरेर, पार्टी अफिसमा ताला लगाएर हिँड्दैनौं। यो पार्टी फेरि पनि हामीले नै चलाउने हो। यही नेतृत्वले चलाउने हो।

सुरुमा हामीले समस्याको महसुस गर्नुपर्‍यो। झलनाथ खनालले के उठाउनुभयो। त्यो समस्या होइन त? हो नि! नारायणकाजीले केही कुरा उठाउनुभयो, त्यो पनि समस्या हो। माधव नेपालले उठाउनुभयो। अर्कोतर्फबाट हेर्ने हो भने केपी ओलीलाई अर्कै लागिरहेको छ। त्यो लाग्न पाउँछ। प्रचण्ड कमरेडलाई अर्को केही लागिरहेको होला, त्यो पनि पाउँछ। सदस्यहरुलाई पनि आफ्नो कुरा लाग्न पाउँछ। त्यसैले त हामीले भन्यौं– कम्युनिस्ट पार्टी भनेको विविधताबीचको एकता हो।

यात्रु कक्षमा जुन खालको बहस र छलफल भइरहेको छ। ककपिटमा बस्नुभएको पाइलटद्वयले सुनिरहनुभएको छ?
कुराकानी पक्कै पनि भइरहेको छ। प्रधानमन्त्रीले नै न्युयोर्कबाट पार्टी भित्रको समस्याको बारेमा केही धारणा राख्नुभयो। यहाँभित्र उठेका कुराको जानकारी भएर नै राख्नुभयो। उहाँले नेतृत्व गरेको पार्टीभित्र केही समस्या छन् भन्ने बुझेर नै धारणा राख्नुभयो। उहाँको जवाफ मलाई चित्त बुझ्यो कि बुझेन त्यो बेग्लै कुरा हो। यी घटनाक्रमबाट उहाँ बेखबर हुनुहुन्छ भन्ने त लाग्दैन। कमरेड प्रचण्डले सिंगापुरबाट कमरेड माधव नेपाललाई फोन गर्नुभयो। तपाईं जे समस्या उठाइरहनुभएको छ, हामी त्यसमा छलफल गरौंला, सहमति गरेर जाउँला, तपाईंलाई एक्लाउन र अलग्याउन खोजेको होइन भनेर प्रचण्डले भन्नुभयो भनेर मिडियामा हामी सुनिरहेका छौं। यी कुराले नेतृत्वको ध्यानाकर्षण भइरहेको छ भन्ने नै देखाउँछ।

तर, सूचना प्रशारणको तह हुन्छ नि! यहाँ त यात्रु कक्षबाट टावरमा र टावरबाट पाइलटसम्म सूचना पुगेको जस्तो देखियो!
जहाँबाट पुगे पनि आखिरमा त्यो ठाउँसम्म पुग्छ, ध्यानाकर्षण हुन्छ र हुनैपर्छ। एकजना अध्यक्ष आइसक्नुभयो, प्रधानमन्त्री पनि सम्भवतः १८ गते आउनुहुन्छ। त्यसपछि पार्टी स्थायी समितिको बैठक बोलाउनुपर्छ। यति भइसकेपछि अब बोलाउनै पर्छ। म नेपाल लाइभ मार्फत पार्टी अध्यक्षहरुलाई भन्न चाहन्छु- अब यसलाई गुमसुम राखेर हल हुँदैन। जति यसलाई ढाकछोप गर्न खोज्नुहुन्छ, बन्द कोठामा थुन्न खोज्नुहुन्छ, त्यो झन् विस्फोट हुन्छ। त्यसैले जति सक्यो प्रकट हुन दिनुपर्छ। अनि पो आम जनताले पनि आफ्नो धारणा दिन्छ। नेकपाभित्र के भइरहेको छ, माधव नेपालले उठाएको कुरा जायज हो कि होइन, उहाँ पो गलत हुनुहुन्छ कि भनेर प्रतिक्रिया दिन पाउने अधिकार जनताको पनि छ नि। जनता पनि हाम्रो बहसमा प्रकारान्तरले भाग लिइरहेका छन् नि। हाम्रो विवादमा तपाईं पनि भाग लिनुभयो। यो तपाईंको अधिकार हो।

विचारहरुको मन्थनबाट एउटा सही निष्कर्ष निकाल्ने हो। मानव जातिलाई लट्ठी लगाएर धकेल्न वा डोरी लगाएर तान्न सकिँदैन। विचार र दिमागले डोहोर्‍याउने हो। नेतृत्वले दाम्लो लगाएर डोहोर्‍याउँछु वा लट्ठी लगाएर लखेट्छु भन्न थाल्यो भने त्यो मुर्खतापूर्ण कुरा हुन्छ।

माधवकुमार नेपालले संसदबाटै सरकारको आलोचना गरिदिनुभयो। शुक्रबार स्थायी समिति सदस्यलाई चिया खुवाउनुभयो। यो बाध्यता किन पर्‍यो?
यसलाई दुईवटा पाटोबाट बुझ्नुपर्छ। एउटा, सरकारको आलोचनै गर्नुहुन्न भनेर कतिपयले ठान्छन्। त्यो होइन। आलोचना हुनसक्छ। अर्को कुरा, माधव नेपालले संसदमा बोल्नुभयो, जस्तरबाट यस्तो गुनासो पनि आएका छन्। उहाँले जनताको गुनासो संसदमार्फत सरकारको ध्यानाकर्षण गर्नुभयो। उहाँले के गल्ती गर्नुभयो? जनताको गुनासो यस्ता छन्, सरकार अझै प्रभावकारी हुनुपर्‍यो भन्ने जनताको अपेक्षा छ भन्नुभयो। उहाँले सरकारले राम्रो काम पनि गरेको छ भनेर खुलेर भन्नुभयो।

तर सँगसँगै जनताको गुनासो पनि सुनाउनुभयो। बलात्कार, एसिड र हिंसाका घटनाहरु बढिरहेका छन्, कोहीकोही देश टुक्र्याउँछु भनेर हिँडिरहेका छन्, तीमाथि सरकारले जुन किसिमले नियन्त्रण कायम गर्नुपर्थ्यो, सकिरहेको छैन, यदि यस्तै हुँदै जाने हो भने देश डुब्छ। त्यसैले देश डुब्नुभन्दा पहिले हामीले यी कुरामा नियन्त्रण गरौं। सरकारको म ध्यानाकर्षण गर्छु भन्नुभयो। के बिगार्नुभयो? प्रधानमन्त्री वा मन्त्रीहरुको भन्डाफोर त उहाँले गर्नुभएन। प्रधानमन्त्री वा मन्त्रीहरुको सामान्य ध्यानाकर्षण पनि गर्नु नहुने भन्ने पनि हुन्छ र? यो गरेर उहाँले बिगार्नुभयो र?

कतिपय यस्ता विषय हुन्छन्, जो पार्टीभित्र उठाउनुपर्छ, छलफल हुनुपर्छ। ती बेग्लै कुरा हुन्। तर संसद भनेको पब्लिक फोरम पनि हो नि। त्यसैले यो विषयलाई पनि सामान्य ढंगले बुझ्नुपर्‍यो कि आफ्नै पार्टीको सरकारको सन्दर्भमा पनि संसदमा आफ्नै पार्टीका सांसदले कुरा उठाउँछन् है!

मलाई भन्न मन छैन। तर, केपी ओली पक्षका भन्ने साथीहरुले संसदमा हाकाहाकी सरकारको भन्डाफोर गर्नुभएको छ। त्यसमा त कसैले पनि टिप्पणी गर्नुभएको छैन। हिजो पनि मैले कतिपय संसदीय समितिमा सुनें, पार्टी अध्यक्ष र प्रधानमन्त्री पक्षधर हुँ भन्नेहरुले सरकार व्यापारी र कालाबजारीसँग मिलेर तस्करीमा संलग्न छ भन्नुभयो। त्यसप्रति त कसैको टिप्पणी छैन। उहाँहरुले त 'के सरकार माफियाहरुको चंगुलमा छ?', 'सरकार माफियाहरुको एजेन्ट बनिसक्यो?' भन्ने तहको प्रश्न उठाउनुभएको छ। माधव नेपालले त्यति बोल्दाखेरि भन्डाफोर गर्ने साथीहरु सांसदहरुको यो भनाइमा के भन्नुहुन्छ? के जवाफ छ उहाँहरुको?

मैले कतै भनेको पनि छु, संसदमा हामीले ७९ वटा जति बैठक बस्यौं। त्यहाँ बोलेको रेकर्ड संसदमा हुन्छ। नेकपाका कुन सांसदले केके बोले भनेर अभिलेख निकालौं न त। पक्षधरताकै आधारमा हुन्छ भने पनि माधव नेपाललाई समर्थन गर्ने भन्नेहरु र केपी ओलीलाई समर्थन गर्ने भन्नेहरुले केके बोले त? निकालौं त। म प्रधानमन्त्रीका नजिकका साथीहरुलाई भन्न चाहन्छु, अभिलेख निकाल्नुस्।

तर प्रधानमन्त्री भइसकेको व्यक्ति र सचिवालयको शक्तिशाली व्यक्तिले त्यसरी सरकारको आलोचना गर्न मिल्थ्यो त?
उहाँले करीब २५ मिनेट बोल्नुभयो। त्यहाँ सरकारको समर्थन गर्नुभएन? म त्यहीँ थिएँ, उहाँले खुलेर प्रशंसा पनि गर्नुभएको छ। प्रशंसा गरेकोचाहिँ हिसाब हुँदैन?

आलोचना गरेको मात्रै किन हिसाब भयो त?
त्यो नियोजित छ। केहीकेही मानिसहरु माधव नेपाल र केपी ओलीको बीचमा, माधव नेपाल र प्रचण्डको बीचमा, केपी ओली र प्रचण्डको बीचमा वा झलनाथ र अर्को कुनै नेताको बीचमा द्वन्द्व चर्काएर आफ्नो जीवन धान्नेहरु छन्, हाम्रो पार्टीमा। तिनीहरुको आफ्नो ल्याकत केही छैन, आफू केही गर्न सक्दैनन्, जनअनुमोदित छैनन्, कार्यकर्ताबाट अनुमोदित छैनन्, नेताहरुको आशिर्वादमा जिन्दगी धानिरहेका छन्। ती साथीहरुले द्वन्द्व चर्काइयो भने आफूलाई फलिफाप हुन्छ भन्छन्। त्यस्ता मान्छेले गरेको कुराप्रति मेरो धेरै टिप्पणी छैन।

तपाईंले अघि भन्नुभयो- संसदमा बोल्नेहरुको लिस्ट निकाल्ने हो भने ओली र माधव नेपाल दुवै पक्षका भनिने सांसदहरुले सरकारको आलोचना गरेका छन्। पार्टीको बैठकमा राख्नुपर्ने कुराहरु संसदमा वा बाहिर किन उठ्न थाल्यो?
पार्टीको फोरममा कुरा राख्ने आम सिद्धान्त हो। यसलाई दुई ढंगले हेर्नुपर्छ। पार्टीको फोरममा त राख्ने तर पार्टीको फोरम नै चलेको छैन। संसदीय दलको मिटिङ नै छैन। स्थायी समितिको मिटिङ नै छैन। केन्द्रीय कमिटीको मिटिङ नै छैन। मिटिङ नियमित गरौं न, कुरा त्यहीँ उठ्छ। केन्द्रीय कमिटी, स्थायी समिति र संसदीय दलको बैठकमा पनि उठ्यो। तर के भनियो भने, यसलाई बेग्लै एजेन्डा बनाएर छिटो छलफल गरौंला, हामी मिटिङ गर्छौं भन्नुभयो अध्यक्षद्वयले। त्यसपछि मिटिङ नै भएन।

विधानमा आवश्यकता अनुसार स्थायी समिति बैठक बस्ने भनेर कार्यदल र स्थायी समितिले निर्णय गर्‍यौं। तर विधान छापिएर आउँदा तीन महिनामा बस्ने भन्ने भयो। अब कहाँ भन्ने? हामी त आजित भएर सुनाइरहेका छौं। नियमित केन्द्रीय कमिटीको, स्थायी समितिको वा संसदीय समितिको बैठक भयो भने तपाईंसम्म भन्न आउँदिन नि म। अहिले त भन्ने ठाउँ नै बन्द भएपछि कहाँ भन्ने? तपाईंलाई भनेर सुनाउनुपर्नेलाई सुनाउने। सुन्नुपर्नेले सुन्दिन्छन् कि भन्ने लागेको छ।

यसले पनि केही बिगार्दैन। मैले अघि पनि भने राजनीतिक दल भनेको एउटा सार्वजनिक संस्था हो। कांग्रेसमा के भइरहेको छ, नेकपामा के भइरहेको छ भन्ने बहस सार्वजनिक ठाउँमा भइरहेको छ, के फरक पर्छ र? यसले के बिगार्छ? आज सरकारको पक्षमा वा विपक्षमा भोटिङ गर्नुपर्ने छैन हामीलाई। सरकारलाई एब्सुल्युट समर्थन छ। अझ माधव नेपाल स्वयंले नै प्रस्ताव गरेर केपी ओली प्रधानमन्त्री हुनुभयो नि! यसो गरेर माधव नेपालले प्रणाली विकास गर्नुभयो।

तपाईंले भन्नुभयो- पार्टीभित्र आफ्नो कुरा राख्ने ठाउँ नै भएन। पार्टी एकता भएको चार महिना नपुग्दै यस्तो भन्नुपर्ने अवस्था कसरी आयो?
हाम्रोमा पहिलेदेखि नै यस्तो भइरहेको छ। दुर्भाग्यवशः नवौं महाधिवेशनदेखि हाम्रोमा नियमित बैठक नै भइरहेको छैन। पार्टी एकीकरणपछि त हाम्रो बीचमा समझदारी बढाउन बारम्बार बैठक हुनुपर्थ्यो। औपचारिक र अनौपचारिक छलफलहरु हुनुपर्थ्यो। पार्टी एकीकरणको नामसूची निर्वाचन आयोगमा बुझाउने दिन हामी दुवैतिरका साथीहरु जम्मा भयौं। केन्द्रीय कमिटि यही हो भनियो। कतिलाई चिनेकै छैन। अनि स्थायी समितिको बैठक बस्यो। त्यसपछि फेरि बैठक बस्ने, सरकारको समीक्षा गर्ने, प्रतिवेदन यसरी छाप्ने भनेर हामीले टुंग्यायौं। तर विधानै अर्को छापेर ल्याइयो।

त्यसपछि त मिटिङ नै छैन त मैले कहाँ भनौं? काम त बिग्रिसक्यो नि। कमसे कम, तिमीहरुले यस्तो कुराको किन समयमै नोटिस गरेनौं भनेर जनताले सोध्लान् कि भनेर भनेको हो। मैले पार्टी सचिवालयमा लेखेर दिएको छु, विधानमा यसरी छापेर आयो, यो गलत छ है भनेको छु। तर त्यसको कुनै सुनुवाइ नै छैन। बैठक भए पो सुनुवाइ हुन्छ। सुनुवाइ नभएपछि समयमै हामीले यसमा टिप्पणी गरेका थियौं है भनेर अहिले नै भनियो भने भोलि आम जनताले र बुद्धिजीवीले कम्तीमा मलाई त प्रश्न नउठालान् नि!

स्थायी समितिले पारित गरेको विधान र छापिएर आएको विधानमा केके फरक छन्?
केही कुरामा नियतवश फरक पारिएको छ। जस्तो स्थायी समितिको बैठकको अवधि हामीले आवश्यकता अनुसार बस्ने छ भन्ने पास गर्‍यौं। त्यो तीन दिन, पाँच दिन वा तत्कालै पनि बस्ने भयो। तीन चार महिनामा पनि बस्न सक्नेभयो। तर छापेर ल्याइयो, तीन महिनामा बल्ल बस्ने। अहिले त अध्यक्ष वा महासचिवले भन्न सक्नुहुन्छ, हामी त विधान अनुसार नै चलेका छौं। तर कुन विधान अनुसार? पार्टीले पास गरेको विधान कि छापेको विधान? छापेको विधान अनुसार उहाँहरु चल्नुभएको छ। हामीले छापेको विधान अनुसार होइन, पास भएको विधान अनुसार चल्नुस् भनेका छौं।

त्यस्तै, सचिवालयको कुरामा पनि परिवर्तन भयो। सचिवालयको कुरामा जहाँ पनि प्राविधिक कमिटि हो। त्यसले आफैं राजनीतिक र सांगठनिक निर्णय गर्दैन। त्यसले प्रस्ताव बनाउँछ र राजनीतिक कमिटिहरुमा पेश गर्छ। केन्द्रीय कमिटि वा स्थायी कमिटिमा पेश गर्छ। चलन त्यही हो। यहाँ स्थायी समितिले पास गरेको विधानमा के थपियो भने, सचिवालयले केन्द्रीय कमिटि वा स्थायी कमिटि नबसेको बेलामा राजनीतिक र सांगठनिक निर्णय गर्ने। अहिले छापिएको विधान अनुसार महासचिव वा अध्यक्षहरुको के तर्क जायज छ भने,  विधानको फलानो धारामा त सचिवालयलाई त यो निर्णय गर्ने अधिकार छ नि! त्यो ठीक हो। छापिएको विधानमा त्यो लेखिएको छ। तर त्यो पास भएको विधान होइन। त्यो निर्णय भएको बुँदा होइन। त्यो छलफलमा पनि आएको होइन। छलफलमै नआएको विषयलाई छाप्नेबेला थपिदिने?

भनेपछि, छापिएर अहिले अभ्यासमा आइरहेको विधानलाई त नेकपाले नचिन्दोरहेछ नि!
त्यहीँ गडबड भयो। विधानमै गडबड भयो। अहिलेको सचिवालयमा हाम्रा मुख्य नेताहरु हुनुहुन्छ। हामीलाई राजनीतिक र सांगठनिक निर्णय गर्न दिनुस् भनेर छलफलमा ल्याउनुपर्थ्यो नि! त्यो भएको भए हुन्थ्यो वा हुन्न भनिन्थ्यो होला नि। तर त्यो छलफल आएको छैन। छलफलमै नआएको कुरा थपेर त्यो हाम्रो अधिकार हो भन्नु त भएन नि।

अहिले के भनिन्छ भने, पार्टी नै गलत लिकमा हिँडेकाले होइन कि यात्रामा माधव नेपाल छुट्नुभएकाले अहिलेको असन्तुष्टि देखियो। के भन्नुहुन्छ?
त्यो पनि त एउटा विश्वासको संकट त हो नि त। उच्च नेताहरुकै तहमा विश्वासको संकट त देखा पर्‍यो नि। माधव नेपालले भने अनुसार उहाँले 'म घाना जाँदैछु, के गरौं' भनेर अध्यक्षलाई सोध्नुभयो। अध्यक्षले पनि 'ठीकै छ, म पनि युएन जाँन्छु, प्रचण्ड कमरेड चीनमा हुनुहुन्छ, हामी तीनै जना आएपछि बैठक गरौंला' भन्नुभयो। तर झलनाथ खनाल नभएपछि झलनाथको पद हटाइदिने, माधव नेपाल नभएपछि अरु निर्णय गर्दै जाने हो भने विश्वासको संकट त हुन्छ नि। त्यो तहमा विश्वासको संकट भयो भने पार्टीलाई त ठूलो नोक्सान हुन्छ।

केपी कमरेड र मेरो बीचमा अविश्वास उत्पन्न हुँदा जति समस्या हुन्छ। माधव नेपाल, झलनाथ, केपी ओली र प्रचण्डको बीचमा विश्वासको संकट उत्पन्न भयो भने त्यसको प्रभावको दायरा फराकिलो हुन्छ। नकारात्मक परिणाम पनि ठूलो आयतनमा आउँछ। धेरै मूल्य चुकाउनुपर्छ।

कम्युनिस्ट पार्टी भनेपछि त्यहाँभित्र व्यापक छलफल हुने र एउटा निष्कर्षमा पुगेपछि नीति लागू गर्ने भन्ने बुझिन्छ। तर तपाईंहरुकोमा चाहिँ फरक मत राख्नेहरु नै अप्ठ्यारोमा पर्दै आएको देखिन्छ। किन यस्तो?
कम्युनिस्ट पार्टी वैचारिक बहस र छलफलमा विश्वास गर्छ। एकल नेतृत्वमा नभई सामूहिकतामा विश्वास गर्छ। लोकतान्त्रिक परिपाटीमा यसले विश्वास गर्छ। सबैका मूल्यहरुलाई यसले स्वीकार गर्छ। हाम्रो पार्टी सञ्चालन हुने सिद्धान्त यही नै हो। दुर्भाग्यबश कहिलेकाहीँ सिद्धान्तहरु व्यवहारमा लागू भएका छैनन्। लागू नहुँदा नै द्वन्द्व आउँछन्।

निर्णय गर्दा कहिलेकाहीँ अल्पमत, बहुमत वा सर्वसम्मत हुन्छ। प्रक्रिया यही हो। अल्पमत वा बहुमत भएर केही बिग्रिँदैन। म त भन्छु, पार्टी अध्यक्षहरुलाई केही प्रस्ताव पास गर्नुपर्ने छ भने स्थायी समितिबाट पास गर्नुस्। मलाई चित्त बुझेन भने म हुन्न भन्छु। हुन्न भन्ने संख्या कम भएपछि पास भइहाल्छ नि। मैले हुन्न भने पनि हुन्छ भन्ने बढी भएकाले पास भयो, मैले मान्नुपर्छ भन्छु नि म। मेरो चित्त बुझेको छैन भने म अर्को बैठकमा प्रस्ताव ल्याउँछु। प्रक्रिया त यही हो। यो प्रक्रिया नै अवलम्बन नभएपछि न समस्या आयो। हाम्रो भनाइचाहिँ यो प्रक्रिया अवलम्बन गरौं भन्ने हो। 

तपाईंलाई जिताएर पठाए मन्त्री बनाएर पठाइदिन्छु भनेर केपी ओलीले भन्नुभएको थियो। संसदीय सुनुवाइ समितिको सभापति पनि तपाईंलाई बनाउने कुरा थियो। अन्तिममा बनाइएन। तपाईंको आलोचनात्मक चेतले यस्तो भयो भन्छन् नि?
त्यो कारणले प्रधानमन्त्रीले मलाई छनौट नगरेको होला भन्ने मलाई लाग्दैन। प्रधानमन्त्रीको नियतमाथि मलाई कुनै शंका छैन। उहाँले मन्त्रीहरुको छनौट गर्दा कोसँग सल्लाह लिनुभयो, त्यो आफ्नो ठाउँमा छ। तर कमिटिमा कुनै राय सल्लाह भएको होइन। उहाँले मन्त्री छान्नुभयो, राष्ट्रपतिले सपथ गराउनुभयो। त्यसमा म परिनँ त मलाई किन चिन्ता? मेरो ठाउँमा अरु कोही आयो त। खालि त भइरहेको छैन। उहाँले विश्वासिलो टिम बनाउनुभयो। मैलेभन्दा अर्को मान्छेले उहाँलाई बढी सहयोग गर्छ भन्ने लाग्यो होला, बनाउनुभयो। मलाई आपत्ति छैन। त्यसकारणले उहाँ र मेरो सम्बन्ध बिग्रिँदैन। पछि पनि भेटघाट भएको छ। हार्दिकता छ।

उहाँसँग मैले कति शिक्षादिक्षा लिएको छु। उहाँले मलाई कति सिकाउनुभएको छ। कति हिम्मतिलो बनाउनुभएको छ। आज केपी ओलीका बारेमा जति म बोल्न सक्छु, त्यो केपी ओलीको प्रेरणाले हो। उहाँले नै सिकाएको हो– सही कुरा बोल्नुपर्छ है। डराउनुहुँदैन। त्यो हिम्मत त उहाँले दिनुभएको हो मलाई। उहाँले दिएको हिम्मतले नै मैले उहाँको बारेमा बोल्दैछु। तर उहाँले मलाई भन्नुभएको छ, अनुशासनहीन र अराजक नहुनू। राम्रो लेख्नू, राम्रो पढ्नू भन्नुभएको छ। म अनुशरण गर्ने कोसिस गर्दैछु। केपी ओलीजस्तो बुलन्द भाषण गर्न, प्रतिपक्षीलाई तिखो प्रहार गर्न सिक्दैछु। थुप्रै गुण उहाँबाट मैले सिकेको छु।

मैले मेरै गुरुलाई आज प्रश्न गरे नि, गुरुजी तपाईंले मलाई यो सिकाउनुभएको हो तर गुरुजीबाटै यो कुराको अनुशरण भएन जस्तो लाग्यो, के हो गुरुजी! केही कमी मबाट भयो कि वा गुरुजीबाट भयो कि! मबाट भएको भए शिष्य भएकाले सुधार्छु। शिष्यले पनि गुरुको कमजोरी देख्यो भने, आधुनिक विद्यार्थीले त शिक्षकलाई पनि सच्याउँछ। म जे गर्दैछु, पार्टी अध्यक्ष केपी ओलीले कुनै बेला सिकाएको कुरा नै गर्दैछु।

विस्तृत अन्तर्वार्ताका लागि भिडियो हेर्नुहोस्:

 

प्राप्त प्रतिकृयाहरू

कपिल सुवेदी
माधव नेपाल होस वा अरू जोसुकै किन नहोस आफ्नै पार्टीको सरकारको सदनबाट उछित्तो काट्नु कुन कम्युनिष्ट चरित्र भित्र पर्छ ? यो जे भयो ग़लत भयो भनेर किन भन्न नसक्ने तपाई जस्तो युवा नेता हाम्रो आशाको भरोसाको धरोहर ले ग़लत लाई गलत नै नभनी अझै वाहांको बचाउ गर्दै हुनुहुन्छ । यो मजस्ता सामान्य समर्थक लाई त चित्त बुझेन भने अरूको कसरी बुझ्ला ? कुरा सबै जायज र उचित छन भनेपनी यस्को उठान र निदान संसद भवन होईन पार्टी पद्दती अनुसार पार्टीको सम्वन्धित फोरममा उठाउनु पर्छ भनेर म जस्तो सामान्य समर्थक शुभचिनतकले तपाई जस्तो नेतालाई सम्झाउने कुरा होईन । प्रतीपक्षको भुमिका नै सत्तापक्षका वरिष्ठ नेताले लिए पछि प्रतिपक्ष भुमिका बिहिन हुन पर्ने कस्तो परम्पराको सुरूवातहो ?

Ram Tamang
nice interview

तपाईको प्रतिक्रिया

यसमा तपाइको मत


सम्बन्धित समाचार