नेपालगन्ज– अवैध रुपमा डोल्पाबाट नेपालगन्ज ल्याउँदै गरेको ६ किलो एक सय ग्राम यार्सागुम्बा सहित बाँके प्रहरीले डोल्पा सानो भेरीका जडिबुटी व्यवसायी श्रवणकुमार बुढालाई पक्राउ गरेको छ।
डोल्पाको दुनै विमानस्थलबाट समिट एयर हुँदै नेपालगन्ज आएका बुढालाई नेपालगन्ज विमानस्थल सुरक्षार्थ खटिएको प्रहरीले यार्सागुम्बा सहित पक्राउ गरेको हो।
बुढाले निलो झोला भित्र टिनको बाकसमा लुकाइछिपाई यार्सागुम्बा नेपालगन्ज ल्याएका थिए।
बाँके प्रहरीले बरामद भएको यार्सागुम्बा सहित बुढालाई थप कानुनी कारबाहीका लागि जिल्ला वन कार्यालय बाँकेमा बुझाएको छ।
यार्सागुम्बा संकलन गरी ओसारपसारका लागि अभियुक्त बुढाले जिल्ला वन कार्यालय डोल्पाबाट अनुमति पत्र लिएको भए पनि ओसारपसार गर्नका लागि दिइएको अवधि सकिएपछि पनि कानुनी प्रक्रिया अनुसार म्याद थप नगरी ओसारपसार गरेको अनुसन्धानबाट खुलेको छ।
शनिबार बिदाका दिन भएकाले आइतबार जिल्ला अदालत बाँकेबाट म्याद थप गराएर कारबाहीको प्रक्रिया अगाडि बढाइने जिल्ला वन कार्यालय बाँकेका मुद्दा फाँटका नायब सुब्बा घनश्याम केसीले बताए।
यार्सागुम्बालाई मुल्यवान जटिबुटीको रुपमा लिइन्छ। उच्च पहाडी क्षेत्रमा पाइने यार्सागुम्बा संकलन र ओसारपसार गर्दा सम्बन्धित जिल्ला वन कार्यालयबाट अनुमति लिनु पर्ने कानुनी व्यवस्था छ।
नेपाल सरकारले प्रति केजी यार्सागुम्बाको २५ हजार राजस्व तोकेको छ।
राजस्व धेरै भएका कारण वैध भन्दा धेरै अवैध रुपमा यार्सागुम्बाको ओसारपसार हुुने गरेको छ।
यार्सागुम्बा कर्णालीका उच्च पहाडी जिल्लाबाट संकलन भई अवैध रुपमा नेपालगन्ज हुँदै काठमाडौं भएर चीनको तिब्बतमा जाने गरेको जडिबुटी व्यवसायीहरु बताउँछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।