एजेन्सी-एक तिहाइभन्दा बढी अस्ट्रेलियालीलाई आफ्नो आम्दानीले बाँच्न गाह्रो भएको एक सर्वेक्षणले देखाएको छ ।
अस्ट्रेलियन नेसनल युनिभर्सिटी (एएनयु) का शोधकर्ताहरूले गरेको अनुसन्धानले यस्तो देखाएको हो। अनुसन्धानमा सहभागी चार हजारभन्दा बढी उत्तरदातामध्ये ३४ दशमलव दुई प्रतिशतले आफ्नो हालको आम्दानीबाट गुजारा चलाउन गाह्रो भएको जनाएका थिए।
एएनयुको स्कूल अफ पोलिटिक्स एन्ड इन्टरनेशनल रिलेसन्सका प्रमुख निकोलस बिडलले सन् २०२० फेब्रुअरीयता आर्थिक तनावको दर उच्च रहेको बताए ।
जनवरीको सर्वेक्षणमा सहभागीहरूमध्ये ६२ प्रतिशतले आर्थिक दबाबका कारण किराना र आवश्यक वस्तुहरूमा कम खर्च गरिरहेका र ५० प्रतिशतले प्रमुख खरिद नै स्थगित गरेको बताएका छन् ।
'यो वित्तीय तनावलाई हेर्दा आर्थिक सन्तुष्टिमा कमी आउनु आश्चर्यजनक होइन', अनुसन्धानकर्ता बिडलले भने, 'यो घटेर करिब ६२ प्रतिशत भएको छ, जुन सन् २०२३ को तुलनामा करिब १० प्रतिशतले कम हो ।'
बिडलले यो तथ्याङ्क कोभिड–१९ को महामारीका बेला ठूलो जनसङ्ख्या लकडाउनमा रहेका बेला गरिएको सर्वेक्षणको नतिजासँग बराबर भएको बताए । जनवरीको सर्वेक्षण अस्ट्रेलियाको आवास बजारमा विशेष ध्यान केन्द्रित भएको बताइएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।