काठमाडौँ- अमेरिकी डलर भन्दै कागजको बिटो दिएर पाँच लाख रुपैयाँ ठगी गर्ने पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले उनीहरुलाई काठमाडौंको तार्केश्वरस्थित डाँडागाउँबाट बिहीबार पक्राउ गरेको हो।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–२ का ३५ वर्षीय धनकृष्ण शिवभक्ती, सोही ठाउँका ५६ वर्षीय दातेम्बा शेर्पा, बाह्रबिसे-३ का ४० वर्षीय हरेराम भुजेल, सोलुखुम्बुको लिखुपिके गाउँपालिका-३ का ४१ वर्षीय गणेशबहादुर विक र मकवानपुरको इन्द्रेणी गाउँपालिका-३ कि ५५ वर्षीया मीना तामाङ छन्।
उनीहरुले दोलखाको मेलुङ गाउँपालिका–१ घर भई ललितपुरको महालक्ष्मी नगरपालिका-७ चाँगाथलीमा फर्निचर व्यवसाय गरी बस्ने ३१ वर्षीय रवीन्द्र कोइरालालाई सस्तोमा डलर साटिदिने भन्दै ठगी गरेको प्रहरीले जनाएको छ।
गत चैतदेखि निरन्तर फलो गर्दै आफूहरु साढे १५ लाख डलर रहेको र सस्तोमा साटिदिने भन्दै कागजको बिटो दिएर पाँच लाख ठगी गरेको आरोप छ।
डलर साटिदिने भन्दै भक्तपुरको ठिमी नगरपालिका–४ स्थित कोरियन अस्पताल पछाडि लगेर वैशाख ६ गते पाँच लाख रुपैयाँ ठगी गरेको खुलेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।