काठमाडौं– अवैध बाटो हुँदै अमेरिका हिँडेका १० जना नेपालीलाई केन्यामा ९ महिनासम्म बन्धक बनाएर राखिएको पाइएको छ।
नेपाल प्रहरीका अनुसार बन्धक बनेका १० जना नेपाल फर्किएपछि उनीहरुको उजुरीको आधारमा ३ जनालाई पक्राउ गरिएको छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय प्रमुख सानुराम भट्टराईका अनुसार गिरोहले उनीहरुबाट ५ करोड ५० लाख रुपैयाँ ठगेको आरोप लागेको छ। पक्राउ पर्नेमा सिन्धुपाल्चोकको भोटेकोशीका ४७ वर्षीय टासी शेर्पा, सिन्धुपाल्चोककै कर्थली- १ का ङिमबुटी शेर्पा र जुगल गाउँपालिका- १ की १९ वर्षीया नीमा शेर्पा रहेका छन्।
पीडितबाट जनही ५ लाख ५० हजार रुपैयाँ उठाएर उनीहरुलाई केन्यासम्म पुर्याइ बन्धक बनाइएको पीडितले गुनासो गरेका हुन्। प्रहरीले समात्न लागेको जानकारी पाएपछि तस्करहरुले बन्धक बनाइएका नेपालीलाई फिर्ता गरेको पाइएको एसएसपी भट्टराईले बताए।
प्रहरीले पक्राउ परेको गिरोहले अझै पनि १७ जना नेपालीलाई क्यानडा र अमेरिका पुर्याउन भनी विभिन्न देशमा बन्धक बनाएर राखेको दाबी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।