काठमाडौं– सरकारले किताबमा लगाएको भन्सार महसुसप्रति नेपाली कांग्रेसका सांसद गगन थापाले विरोध जनाएका छन्।
प्रतिनिधिसभाको आइतबारको बैठकको शून्य समयमा बोल्दै थापाले बरु नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो, त्यसको कोटा तोक्न सरकारलाई व्यंग्य गरेका छन्।
थापाले नयाँ बजेटले व्यवस्था गरेको किताब आयातमा १० प्रतिशत भन्सार महसुलले स्वेदशी मुद्रण उद्योगलाई फाइदा पुग्ने तर्कमा कुनै दम नभएको दाबी गरे। 'नेपाली प्रकाशकले अन्य मुलुकबाट छापेर ल्याउने किताबमा यसअघि नै लाउँदै आएको १५ प्रतिशत भन्सारले कुनै बदलाव ल्याएन', उनले कारण दर्साए।
उनले घरेलु मुद्रण व्यवसायको हित सरकारले चाहेको हो भने अनेकन उपाय रहेको बताए।
'किताब आयातको अंकले भन्छ– राजस्व संकलनमा यसले टेवा पुर्याउनेमा त झनै दम छैन', थापाले भने, 'त्यसैले यो कामको एउटै उद्देश्य देखिन्छ, किताबलाई महंगो बनाउँदै किताबमा नियन्त्रण गर्नु। कालान्तरमा ज्ञानमा नियन्त्रण गर्नु।'
उनले तर विदेशबाट आउने नेपालीले भन्सार नतिर्नेगरी धेरै किताब लिएर आउने गरे भने सरकारको चाहना पूरा नहुन सक्छ भन्दै व्यग्य गरे।
'अत सरकारलाई सुझाब दिन चाहन्छु। विदेशबाट आउने नेपालीले एक पटकमा कतिवटा पुस्तक ल्याउन पाउने कोटा तोकिदिनुस्। त्यसको अनुगमन गर्न विमानस्थल लगायतका ठाउँमा सुरक्षा जाँच कडा गर्नुस्। किताब बढी ल्याउनेलाई दण्ड जरिवाना गर्नुस्', उनले भने, 'त्यसमा पनि किताब नपढी नेपालीले नछाड्ने भए भने सरकारले नागरिकले एक वर्षमा कतिवटा किताब पढ्न पाउने हो, त्यसकै कोटा तोकिदिनुस्।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।