धनगढी- नेपाल कम्युनिस्ट पार्टी (मसाल)ले मित्र तथा शत्रु शक्तिको वर्गीकरण गरेको छ। मसालको भर्खरै भएको आठौं महाधिवेशनले नेपाली काँग्रेस, राप्रपा र मधेसवादी राजनीतिक दलहरूलाई पुँजीवादी तथा नेकपा (विप्लव), नेकपा, नेमकिपा, नेकपा (माले) लगायतका पार्टीलाई जनवादी पार्टीका रुपमा वर्गीकरण गरेको छ।
मसालको आठौं महाधिवेशनको निर्णयहरू जानकारी दिन शनिबार धनगढीमा आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रवक्ता मिलन शाहीले महाधिवेशनले राजनीतिक शक्तिहरूलाई तीन भागमा विभाजन गरेको बताए।
मसालले नेपाली काँग्रेसलाई सामन्त र दलाल नोकरशाही पुँजीपति वर्ग र नयाँ जनवादी क्रान्तिको दुश्मन शक्तिका रुपमा लिएको छ। राजतन्त्र स्थापना गर्न धर्मलाई हतियारका रुपमा प्रयोग गर्दै आइरहेकोले राप्रपा र भारतीय साम्राज्यवादी उद्देश्य पूरा गर्न गठित मधेशवादी संगठनहरू दुश्मन शक्ति भएको ठहर गरेको छ।
भारत र अमेरिकालाई दुस्मन शक्तिका रुपमा मसालले लिएको विज्ञप्तिमा उल्लेख छ। चीन र भारत दुवै साम्राज्यवादी मुलुक भएपनि भारतले नेपालमाथि हस्तक्षेपकारी रणनीति लागू गर्दा चीन भने देशको सार्वभौमसक्तामा खासा असर नपार्ने शक्ति भएको उल्लेख छ।
साथै वर्तमान सरकारलाई सहयोग गर्ने नीति महाधिवेसनले लिएको विज्ञप्तिमा उल्लेख गरिएको छ। महाधिवेसनले प्रवासीलाई पनि मताधिकारको प्रयोग गर्न पाउने गरी व्यवस्था हुनपर्नेमा जोड दिने निर्णय गरेको उल्लेख छ।
सबै धर्महरूको सम्मान गर्नुपर्ने र धर्म निरपक्षेता रक्षा गर्नका लागि पार्टीपंक्ति सधैं अग्रसर हुनुपर्ने निर्णय महाधिवेशनले गरेको छ।
गणतन्त्रको रक्षा, देशको राष्ट्रियता, सार्वभौमिकता, अखण्डताको रक्षा, संघीयताको खारेजी, महँगी, भ्रष्टाचार नियन्त्रण गरिनुपर्ने, करवृद्धि रोकिनुपर्ने तत्कालिक ठोस कार्यक्रम अघि बढाएको प्रवक्ता शाहीले बताए।
अर्धभूमिगत अवस्थामा रहेको मसालले महामन्त्रीमा मोहन विक्रम सिंहलाई निरन्तरता दिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।