काठमाडौं- सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका वरिष्ठ नेता माधव कुमार नेपालले राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका छन्।
थाहा दर्शनका प्रवर्तक रुपचन्द्र बिष्टको २०औं स्मृति दिवसका अवसरमा राजधानी काठमाडौमा शनिबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै नेता नेपालले जनअपेक्षा अनुसार काम गर्न सकियो/सकिएन भनि राजनीतिक नेतृत्वले आत्मसमीक्षा गर्नुपर्ने समय आएको बताएका हुन्।
'गरीबी, अभाव, वेरोजगारी, विकृति, विसंगतीको अन्त्य गर्दे सुखी नेपाली सम्मृद्ध नेपालको चाहाना पुरा गर्नका लागि कार्य प्रगतीको समीक्षा र बहस आवश्यक छ। आर्थिक सम्मृद्धिको नाराले मात्रै मुलुक र मुलुकबासीको चाहाना र अपेक्षा पूरा हुन सक्दैन,' उनले भने, 'आत्मसमीक्षा गर्नुपर्ने छ। साँच्चै जनताले आशा अपेक्षा गरे बमोजिम, सबैले हामी संग माग गरे बमोजिम हामीले आफ्नो भूमिका प्रभावकारी रुपमा निर्वाह गर्न सकिरहेका छौँ? यदि सकिरहेका छैनौ भने कसरी सकिन्छ त? आत्मचिन्तनको खाँचो छ। आत्मनिरीक्षण र आत्मपरीक्षाको खाँचो पनि छ।'
पूर्व प्रधानमन्त्रीसमेत रहेका नेता नेपालले जनचाहना पूरा गर्न राजनीतिक नेतृत्वले आफ्नो आचरण, बानीव्यहोरा र संस्कारमा पनि परिर्वतन गर्नुपर्ने आवश्यकता रहेको बताएका थिए।
-फाइल तस्बिर
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।