काठमाडौं- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सरकार सर्वसत्तावादतर्फ उन्मुख रहेको आरोप लगाएका छन्।
अध्यक्ष थापाले सरकारसामू निरिहता प्रकट गरेको भन्दै प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसको पनि चर्को आलोचना गरे। शुक्रबारबाट काठमाडौंमा सुरु भएको पार्टी केन्द्रीय कार्यसमितिको विस्तारित बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै उनले सरकारले सत्ता, शक्ति र राज्य स्रोतलाई कब्जामा लिएर जनमतको अपमान गरिरहेको दाबी पनि गरे।
सरकारले मिडिया, मानव अधिकार आयोग, न्यायालय सबैमाथि हस्तक्षेप गरिरहेको अध्यक्ष थापाको प्रतिवेदनमा उल्लेख गरिएको छ।
अध्यक्ष थापाले सरकार र प्रमुख प्रतिपक्ष कांग्रेसको सहमतिमै मुलुकमा लुटतन्त्र मच्चाउने काम भइरहेको दाबी पनि गरे। उनले सरकारलाई नेत्रविक्रम चन्द नेतृत्वको नेकपालाई वार्तामा ल्याएर समस्या समाधान गर्न पनि आग्रह गरेका छन्।
चन्द नेतृत्वको नेकपालाई प्रतिवन्ध लगाएर सरकारले मुलुकलाई दुष्चक्रमा फसाउन खोजेको अध्यक्ष थापाको निष्कर्ष छ। अध्यक्ष थापाले कांग्रेस र कम्युनिष्ट दुवै शक्ति मुलुकलाई अघि बढाउन असफल भएको दाबी गर्दै आफ्नो पार्टीलाई वैकल्पिक शक्तिको रुपमा स्थापित गराउने पनि बताए। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।