काठमाडौं- संघीय संसदको महिला तथा सामाजिक समितिमा ‘ज्येष्ठ नागरिकसम्बन्धी ऐन, २०६३ को संशोधन गर्न बनेको विधेयक’ माथिको प्रारम्भिक छलफल सुरु भएको छ।
समितिको शुक्रबार सिंहदरबारमा बसेको बैठकमा सो विधेयकमाथिको प्रारम्भिक छलफल सुरु गरिएको हो। छलफलमा भाग लिँदै समितिका सदस्यहरुले विज्ञहरुसँग पनि छलफल गरेर सो विधेयकलाई समृद्ध बनाउनुपर्नेमा जोड दिए।
समितिकी सभापति निरुदेवी पालले सो विधेयकका विषयमा विज्ञहरुसँग पनि छलफल गर्ने प्रष्ट पारिन्। उनले विज्ञहरुसँग छलफल गर्नुअघि संशोधनकर्ता सांसदहरुको पनि धारणा लिने बताइन्।
समितिकी सदस्य अमृता थापाले सरोकारवालाहरुको सुझाव लिएर मात्रै सो विधेयकलाई टुंगो लगाउनुपर्ने आवश्यकता औंल्याइन्। उनले जेष्ठ नागरिक समाजको सम्मानित नागरिक भएकाले उनीहरुको उचित सम्मान हुने गरी कानुन बनाउनुपर्नेमा जोड दिइन्।
सरकारले ल्याएको सो विधेयकमा असहाय ज्येष्ठ नागरिकको विशेष संरक्षण गर्ने प्रावधान राखिएको छ। त्यसैगरी उनीहरुको हेरचाह आफ्नो सन्तानले नगरे पालनपोषण गर्ने अरुलाई नै ज्येष्ठ नागरिकको सम्पत्ति दिन पाउने व्यवस्था पनि गरिएको छ।
स्थानीय तहको न्यायिक समितिले आवश्यकताको आधारमा सो निर्णय गर्न सक्ने पनि विधेयकमा उल्लेख गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।