धुलिखेल- २०७२ बैसाख १२ गतेको भूकम्पका कारण क्षतिग्रस्त बकुल्टार र बालुवास्थित दनुवार बस्तीका अधिकांश घर अहिले पनि उस्तै छन्। काभ्रेपलाञ्चोकको पाँचखाल नगरपालिका– १२ स्थित बस्तीमा पुनर्निर्माण हुन नसक्दा चिराचिरा परेका घर जोखिमका रुपमा ठडिएका छन्।
पाँचखाल नगरपालिकाकी उपप्रमुख लक्ष्मी दनुवारले पुनःनिर्माणका लागि आवश्यक जनशक्ति र आर्थिक अभाव भएको बताइन्।
आर्थिक अभाव झेल्दै भूकम्पका कारण बस्ती नै क्षतिग्रस्त भएपछि कष्टकर जीवन गुजारा गर्दै आइरहेका उक्त बस्तीका बासिन्दाले पुनःनिर्माणको काम अगाडि बढाउन सकेका छैनन्।
'बिरामी हुँदा औषधि किनेर खान सक्ने दनुवार समुदायको अवस्था छैन, घर बनाइदिने निकाय भए राम्रो हुन्थ्यो', उपप्रमुख दनुवारले भनिन्।
विभिन्न संघसंस्थासँग सहकार्य गरेर काम गर्न पाएमा थप सहज हुने र त्यसका लागि सहयोग गर्न सबैलाई उनले आग्रह गरिन्। राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैँडा र राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अध्यक्षलाई समेत दनुवारले आग्रह गरेकी छिन्।
'अर्थोपार्जनको कुनै माध्यम छैन,' स्थानीय सिमराज दनुवारले भने, 'घर बनाउन पैसा छैन, भूकम्पले चिरा पारेको घरमा बस्दै आएका छौँ।'
भूकम्प लाभग्राहीको पहिलो किस्ता पाएपछि घर बनाएका केही लाभग्राहीले दोस्रो किस्ता भने पाउन सकेका छैनन्।
काँचो माटोका इँटा र काठको नटले घर निर्माण गरेपछि पार्वती दनुवारको घर निर्माण कार्य इञ्जिनियरले रोकिदिए। मापदण्डअनुसार नभएको बताएपछि दोस्रो किस्ता पाउन नसकेको उनी बताउँछिन्।
सोही टोलका सानु दनुवारले पनि घर बनाएर दोस्रो किस्ता नपाएको बताए। 'मैले पनि त्यसरी नै काँचो इँटाले घर बनाएको हुँ, घर त सम्पन्न भयो, मापदण्डअनुसार भएन भनेर पैसा दिएनन्।'
सोही टोलका माइला दनुवारले भने लाभग्राहीको सूचीमा नाम भए पनि बैंकबाट रकम नपाएको गुनासो गरे। 'म तीन पटकसम्म पाँचखालस्थित प्रभु बैंकको शाखामा गएँ, नाम लिष्ट आएकै छैन भन्ने जवाफ पाउने गरेको छु,' उनले भने। अरु ठाउँमा जग्गा भए पनि पैसा नभएका कारण अर्को घर बनाउन सक्ने अवस्था नभएको उनको भनाइ छ।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला समन्वय समितिका प्रमुख ध्रुव गैँडा भने विपन्न दनुवार बस्तीका बासिन्दाका लागि सहयोगी दातासँग समन्वय भइरहेको बताउँछन्।
करिब १८० घरधुरी रहेको दनुवार बस्तीका बासिन्दा एकाध घरपरिवारबाहेक अझै पनि अधिकांश चिरा परेकै घरमा बस्दै आएका छन्।
राष्ट्रिय पुनःनिर्माण प्राधिकरणका कार्यकारी अध्यक्ष युवराज भुसालले दनुवार बस्तीमा काँचो इँटाले बनाएका घर प्राविधिक रुपमा थप मजबुत बनाउँदै प्रक्रिया अगाडि बढाउन जिल्लास्थित सहरी विकास तथा भवन डिभिजन कार्यालयका प्रमुख अष्टलाल सुवाललाई निर्देशन दिएको जानकारी दिए।
७२ हजार ४१७ घरपरिवार लाभग्राही रहेको काभ्रेपलाञ्चोकमा ६५ हजार ७७३ लाभग्राहीले पहिलो किस्ता लिइसकेका छन्। पहिलो किस्ता लिएर घर निर्माणको थालनी गरी दोस्रो किस्ता लिनेको संख्या भने निकै न्यून रहेको छ। हालसम्ममा ९ हजार २६९ लाभग्राहीले दोस्रो किस्ता लिएको र निर्माण सम्पन्न गरी अन्तिम किस्ता लिनेको संख्या २ हजार ८९३ मात्रै रहेको जिल्ला समन्वय समितिको तथ्यांकमा उल्लेख छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।