म्याग्दी- सशस्त्र द्वन्द्वका समयमा १६ वर्षअगाडि सरकारलाई बुझाइएको हतियार यहाँका एक व्यक्तिले फिर्ता लैजान पाएका छैनन्।
धौलागिरि गाउँपालिका–१ गुर्जाका ऋद्धबहादुर छन्त्यालले नेपाल सरकारको निर्देशनानुसार २०५८ फागुन २० गते बेनीमा रहेको कालीप्रसाद गणलाई एकनाले बन्दुक बुझाएका थिए। सरकारको आग्रह स्वीकार्दै सेनालाई हतियार बुझाइए पनि शान्ति प्रक्रिया सुरु भएको लामो समय भइसक्दा समेत अनुमतिप्राप्त बन्दुक फिर्ता नगरेको छन्त्यालले बताए।
उनले इजाजत नं २७७१ भएको एकनाले १२ बोरे ओके ३९ नंको एक थान बन्दुक बुझाएका थिए। पटकपटक सो गणमा ताकेता गर्दासमेत हतियार फिर्ता नभएको उनको गुनासो छ ।
उक्त गणले आफ्नो हतियार नभेटिएको भन्ने प्रतिक्रिया दिएपछि छन्त्यालले रक्षामन्त्री भीमसेनदान प्रधानलाई भेटी फिर्ताका लागि ध्यानाकर्षण गराएका छन्। उनले हालै रक्षा मन्त्रालयमा पुगेर मन्त्री प्रधानलाई ज्ञापनपत्र बुझाउँदै तत्कालीन सेनालाई बुझाएको हतियार खोजबिन गरी फिर्ता गर्न र हतियार हराएको भए उचित क्षतिपूर्ति दिन माग गरेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।