काठमाडौं- सत्तारुढ दल नेकपाका सांसद गंगा चौधरी सद्गौवाले नेपाली कांग्रेसले गुठी विधेयकका बारेमा भ्रम फैलाउने काम गरेको आरोप लगाएका छन्।
प्रतिनिधिसभाको बिहीबारको बैठकको विशेष समयमा बोल्दै उनले विधेयकका बारेमा भ्रामक प्रचार गरी चौतर्फी विरोध गर्न लगाएर कांग्रेसले किसानका छोराछोरीको गाँसबास खोस्ने काम गरेको दाबी गरिन्। उनले भनिन्, 'सामन्तवादी सोच भएका र खास प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले दुःखीहरुको मुहारमा खुसी देख्न सकेन। र गुठी विधेयकको बारेमा भ्रामक प्रचार गरेर चौतर्फी विरोध गर्न लगाएर गरिब भूमिहीन किसानहरुका छोराछोरीको गाँसबास खोस्न प्रयास गरी विधेयक फिर्ता गर्न खेल खेल्यो।'
उनले गुठी विधेयक फिर्ता हुनुले गुठीपीडित किसानहरुको भावनामा ठेस पुगेको जिकिर गरिन्।
'गुठी विधेयक फिर्ताले गुठीपीडित किसानहरुको भावनामा ठेस पुगेको छ। गहभरी आँसु लिएर ठेला परेका हात, चिरा परेका खुट्टा, खाना नखाई भोकभोकै ठूलो खुल्ला मैदानबाट लाखौं गुठीपीडित भूमिहीन किसान भन्दै थिए- सरकार तिमीलाई धन्यवाद छ, आज हाम्रो निम्ति कम्युनिष्ट सरकार छ,' उनले भनिन्।
सांसद चौधरीले धर्म र संस्कृतिको नाममा अहिले पनि सामन्त र मालिकहरुबाट नै राज्यसत्ता सञ्चालन भइरहेको भन्दै रोष प्रकट गरिन्। उनले सामन्तहरुको आँखा आफ्ना पूर्वजहरुको पसिना लुट्न लालयित भएको आरोप पनि लगाइन्।
'मानौ यो देश मालिकहरुको हो। यहाँ मालिकहरुको आदेशको पालना हुन्छ। यहाँ मालिकहरुकै कुरा सुनुवाइ हुन्छ। किन कि यो देश मालिकहरुले नै चलाउने गर्छन्। मालिकहरुले अझै पनि धर्म र संस्कृतिलाई बिक्री केन्द्रमा राखेर आकर्षक विज्ञापन गरिरहेका छन्,' चौधरीको भनाइ छ।
नेपाली कांग्रेसका सांसद सञ्जय कुमार गौतमले सरकारले लोकतान्त्रिक मूल्य र मान्यता कुल्चिँदै गएको आरोप लगाए। सरकारले प्रतिनिधिसभामा आउनुपर्ने विधेयकलाई राष्ट्रियसभामा लगेको तथा सदनबाट नै फिर्ता लिनुपर्नेमा पत्रकार सम्मेलन गरिएकाले विश्वसनियतामा शंका उत्पन्न भएको बताए।
स्वस्फुर्त रुपमा धर्म, संस्कृति र परम्पराको रक्षाका लागि एकजुट भएको जनसभालाई सरकारले 'प्रतिगामीहरुको खेल' देख्नु खेदपूर्ण भएको भन्दै जनताको भावनामा ठेस पुर्याउने काम नगर्न सरकारलाई सचेत गराए। गुठी विधेयक, सूचना तथा प्रविधि विधेयक, मिडिया काउन्सिल, मानवअधिकार आयोगसम्बन्धी र राष्ट्रिय सुरक्षासम्बन्धी विधेयक चरम विवादमा रहेको भन्दै उनले समयमै विवादित विधेयकबारे निकास खोज्ने दिशामा गम्भीर बन्न सरकारको ध्यानाकर्षण गराए। सरकारले भ्रष्ट्राचारलाई मलजल गरेको दाबी समेत उनको थियो।
राजपाका सांसद राजकिशोर यादवले संसद आफनो कर्तव्यबाट च्युत भएको आरोप लगाए। संविधानअनुसार सपथ खाएका सरकारका मन्त्रीले नै संविधानलाई उलंघन गरेर वक्तव्यवाजी गर्दा पनि सदनले कारबाही गर्न नसकेको भन्दै उनले संसदीय गरिमा र मर्यादाप्रति जिम्मेवार हुन सभामुखको ध्यानाकर्षण गराए।
सांसद यादवले जनप्रतिनिधिले दैनिक विभिन्न सरोकारका विषय उठाउने गरेको र जनप्रतिनिधिको आवाजको सम्बोधन नभइरहँदा पनि सदनले त्यसतर्फ सरकारलाई जिम्मेवार बनाउन नसकेको टिप्पणी गरे। उनले गत दुई हप्तादेखि मुलुकको राष्ट्रिय राजनीतिमा ठूलो दुर्घटना हुने आँकलनहरु बाहिर आइरहँदा पनि त्यसबारे सदनमा बहस हुन नसकेको जिकिर गरे।
उनले भने, 'सदनमा सत्तापक्षकै जिम्मेवार नेताले अन्तर्राष्ट्रिय कारणले गर्दा यो मुलुकको भूगोल बदलिनसक्छ भन्ने प्रश्न उठ्छ र त्यसमा यो सदन गम्भीर भएर चर्चा गर्दैन। प्रधानमन्त्रीसँग प्रश्न सोध्दा प्रधानमन्त्रीले मूर्ति चोरहरुको काम भनेर पन्छिन खोज्दा यो सदनमा बहस हुदैन।'
बुधबार माइतीघर मण्डलको जनसभाले मतादेशमाथि जनादेशको विजयी भएको देखाएकाले जनताले दिएको संकेतलाई समयमै बुझ्न सरकारको ध्यानाकर्षण गराए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।