फाइल तस्बिर
काठमाडौँ- सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालय बैठक शुक्रबार बस्ने भएको भएको छ ।
यसअघि प्रधानमन्त्री तथा नेकपा अध्यक्ष केपी शर्मा ओली युरोप भ्रमण सकाएर आएपछि मात्रै बैठक बस्ने गरी स्थगित भएको थियो।
नेकपाका प्रवक्ता नारायणकाजी श्रेष्ठले शुक्रबार सचिवालय बैठक राखिएको र बैठकका एजेन्डा भने पुरानै भएको नेपाल लाइभलाई बताए।
प्रधानमन्त्री ओलीको र अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’बीचको छलफलपछि दुई नेता सचिवालय बैठक शुक्रबार बोलाउने सहमतिमा पुगेका हुन्।
ओली र प्रचण्डबीच आजै बैठक बोलाउनेबारे छलफल चलेको थियो ।
यसअघि २३ जेठमा नेकपा सचिवालय बैठक बसेको भएपनि बैठक निष्कर्षमा पुग्न नसक्ने देखिएपछि ओली युरोपबाट फर्किएपछि बस्ने गरी स्थगित भएको थियो।
पार्टी सचिवालय बैठकमा जिल्ला इन्चार्ज र सहइन्चार्ज टुंगो लगाउने र केन्द्रीय सदस्यको कार्यविभाजन गर्ने प्रयास जारी छ।
सोही अभिप्रायले यसअघि पटक-पटक बसेका बैठक पनि निष्कर्षविहीन भएका थिए।
इन्चार्ज र सहइन्चार्जको विषयमा केपी ओली पक्ष र माधव नेपाल पक्षबीच विवाद रहँदै आएको छ।
नेपालले बैठकहरुमा दोहोरो जिम्मेवारीको विरोध गर्दै आएका छन् भने ओली यसअघि पनि दोहोरो जिम्मेवारी दिइँदै आएकाले जिल्लाको हकमा पनि दिनुपर्ने पक्षमा छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।