काठमाडौँ- प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको साताव्यापी युरोप भ्रमण असफल भएको प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले टिप्पणी गरेका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा प्रमुख प्रतिपक्षी नेताको रुपमा सम्बोधन गर्दै देउवाले आफू पनि बेलायत भ्रमणमा गएको र भूपु गोर्खाको ‘पेन्सन’बढाउने सम्झौता गरेको स्मरण गरे।
'उहाँ (प्रधानमन्त्री)को बेलायत कुनै सफल भएको छैन् भन्ने लागेको छ,’ देउवाले भने, ‘मलाई पनि बोलाएको थियो। म पनि औपचारिक भ्रमण गएको हो। राजकीय निम्ता होइन् औपचारिक भ्रमण भएको हो। त्यो बेला हाम्रो एग्रिमेन्ट(सहमति) नै भएको हो। गौर्खा भूतपूर्व सैनिकहरुको पेन्सन बढाउने कुरामा सहमति नै भएको हो। अहिले एउटा पनि केही पनि भएको छैन्। एउटा पनि सहमति भएको छैन्।’
देउवाले फ्रान्सका कार्यकारी राष्ट्रपतिले भेट पनि नदिएको र ह्वाइट (बेलायती सैनिक)ले सलाम समेत गर्न नमानेको टिप्पणी गरे।
‘अब गार्ड अफ अनर गोर्खा सैनिकले ...,’ देउवाको भनाइ थियो, ‘म पनि गएको थिएँ नि। मलाई ब्रिटिस सेनाले ‘गार्ड अफ अनर’ दिएको थियो। ह्वाइटले सामै गर्न मानेन् के गर्ने त।’
देउवाले थपे, ‘राजीनामा दिएकी प्रधानमन्त्रीले के गर्छिन् बिचरी? ऊसँग के वार्ता सफल हुन्छ। फ्रान्समा कार्यकारी राष्ट्रपतिले भेट नै दिएनन्। नेपालको कार्यकारी अधिकार भएको प्रधानमन्त्री हुन्छ भने फ्रान्सको राष्ट्रपतिमा हुन्छ।’
राजीनामा दिएर काम चलाउ भएकी प्रधानमन्त्रीसँग मात्रै भेट्नुले पनि ओलीको भ्रमण सफल नभएको प्रस्ट हुने उनको भनाई थियो। ‘बेलायतकी राजीनामा दिएकी प्रधानमन्त्रीले के डिल गर्थिन्?,’ देउवाले भने, ‘त्यसकारण उहाँ(प्रधानमन्त्री)को विदेश भ्रमण असफल भएको छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।