काठमाडौं- सत्तारुढ नेकपाका सांसद जनार्दन शर्मा ‘प्रभाकर’ले बजेटप्रति तीव्र असन्तुष्टि व्यक्त गरेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीको क्षेत्र झापामा बजेट रमाकान्तर गरेका कारण उनले असन्तुष्टि व्यक्त गरेका हुन्।
बुधबार संसदमा विनियोजन विधेयकमाथि भएको छलफलमा भाग लिँदै शर्माले व्यंग्यात्मक शैलीमा भने, 'रूकुमको बजेट झापामा रकमान्तर गरियोस्। तै पनि प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु।' उनले श्रम, उर्जा र भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका हुन्।
उनले भौतिक पूर्वाधार मन्त्रालयको बजेटमा तिखो टिप्पणी गरे। ‘२-४० लेखेको छ। करोड हो कि लाख हो?’ उनले भने, ‘२ करोड ४० लाख भएपनि २ लाख ४० हजार भएपनि यो शीर्षक रुकुमबाट हटाइयोस्। रकमान्तर गरेर झापा हालियोस्। म सम्माननीय प्रधानमन्त्रीलाई सहयोग गर्न चाहन्छु।’
यसले झापा मात्र भन्यो भनेर मन्त्रीलाई दुःख लागे थोरै बजेट जनकपुरमा लैजान सुझाव दिए। नेतामुखी बजेट बनेको भन्दै उनले यसरी व्यंग्य गरेका हुन्।
उनले उर्जा मन्त्रालयको बजेटमा असन्तुष्टि जनाएका थिए। आफ्नो नेतृत्वमा लोडसेडिङ अन्त्य भएको स्मरण गर्दै उनले त्यसबापत आफूले सजाय पाएको बताए।
‘मेरो जिल्लाका जनताले मलाई गत वर्ष किन रुकुम अध्यारो भयो भनेर सोधेका थिए, त्यो भुल भयो भने यो वर्ष के भयो? फेरि अध्यारोमा बस्नुपर्ने भयो, त्यसका लागि म मन्त्रीजीलाई धन्यवाद दिन चाहन्छु।’
'विदेशमा के सम्झौता भयो भनेर छाति फुलाउन परेको छ यसले देशको विकास हुँदैन। हाम्रो शिर निहुरेको छ,’ उनले भने।
‘श्रम सहकारी गठन होला, हजारौं युवाहरुलाई काम दिइएला भन्ने सोचेको, हरेक गाउँ आत्मनिर्भर बनाउँ भन्ने नारा आउला भन्ने सोचेको थिएँ’ उनले भने, ‘अहिले विदेशमा कहाँ के सम्झौता भयो भनेर छाति फुलाउने अवस्था छ। देशको शिर निहुरिएको छ, म दुःखी छु।’ युवाहरुलाई विदेश पठाएर नहुने उनको भनाइ छ।
तर सत्तारुढ सांसद भएकाले धन्यवाद भन्नु आफ्नो कर्तव्य भएको भन्दै उनले भने, ‘मन्त्रीज्यूलाई धन्यवाद।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।