गौशाला- महोत्तरीको रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयका विद्यार्थी पुसको कठ्याङ्ग्रिँदो जाडोमा चिसो भुइँमा बसेर पढ्न बाध्य रहेका छन्।
महोत्तरी गाउँपालिका वडा नं ४ मा पर्ने रानी रतबारास्थित लक्ष्मीनारायण आधारभूत विद्यालयमा कक्षा १ देखि ८ सम्म ४७८ विद्यार्थी अध्ययनरत छन्। तर टेबल र बेञ्चको अभावमा उनीहरु विगत १० दिनदेखि जिल्लामा बढेको कठ्याङ्ग्रिँदो जाडोमा पनि चिसो भुइँमा बसेर पढ्न बाध्य छन्।
चिसोले तराईका कतिपय जिल्लाका विद्यालय बन्द भइसकेका छन्। तर महोत्तरीका सो विद्यायलका सयौँ बालबालिका भने टिनले छाएको छानोमा चिसो भुइँमा बसेर राज्यले खोजे जस्तै नागरिक बन्ने प्रयासमा निरन्तर अध्ययनमा लागेका छन्। टेबल र बेञ्च नभएपछि बालबालिका आ–आफ्ना घरबाट नै बोरा बोकेर विद्यालय धाउने गरेका छन्।
आवश्यक फर्निचरको अभावमा घरबाटै ल्याएको बोरामा बसेर पढ्न विवश विद्यार्थी चिसो भुइँमा बसेर अध्ययन गर्नुपर्दा आफूहरुलाई रुघाखोकी लाग्ने, ज्वरो आउने र अन्य शारीरिक समस्या हुने गरेको बालबालिकाको गुनासो छ।
जिल्ला शिक्षा कार्यालय महोत्तरीले बर्सेनि सो विद्यालयमा भौतिक निर्माणका लागि बजेट निकासा गरे पनि विद्यालय समितिले सो विद्यालयमा हालसम्म बेञ्च टेबुलको व्यवस्था नगरेका कारण विद्यार्थी आफू बस्नका लागि बोरा र गुन्द्री बिहान ल्याउने र साँझ घरमा लग्ने गरेका छन्।
जिल्ला शिक्षा अधिकारी ठुलोबाबु दाहाल विद्यालयमा भौतिक पूर्वाधारका लागि गएको बजेटबारे छानबिन गरिने बताउँछन्।
महोत्तरीको महोत्तरी गाउँपालिका– ४ मा रहेको लक्ष्मीनारायण माध्यमिक विद्यालय त एउटा प्रतिनिधि उदाहरण मात्र हो। यस जिल्लाका अन्य कैयौँ ग्रामीण भेगका बालबालिका पनि यसैगरी फर्निचरबिनाको चिसो भुइँमा पढ्न बाध्य छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।