काठमाडौं- राष्ट्रिय जनता पार्टीका सांसद लक्ष्मणलाल कर्णले सरकारले रोस्ट्रम घेरेपछि मात्र आफ्ना कुरा सुन्ने हो भन्दै प्रश्न उठाएका छन्।
संसद्मा राजपाले प्रारम्भदेखि नै बोलिरहेको तर बेवास्ता गरिएको भन्दै उनले सभामुखसँग प्रश्न गरे, ‘के रोस्ट्रम घेरेपछि मात्रै सरकारको बोल्ने चलन हो?’
प्रतिनिधिसभाको बुधबारको बैठकमा बोल्दै कर्णले आफूहरु रोस्ट्रम घेर्न नडराएको सभामुखसमक्ष स्पष्ट पारे। भने, ‘हामी रोस्ट्रम घेर्न डराएका होइनौं। संख्यामा कमि होला तर यो परम्परा नबसोस् भन्ने हाम्रो चाहना हो।’
आफूहरु पनि आन्दोलन गर्न तयार रहेको भन्दै उनले लोकसेवा आयोग विज्ञापनमार्फत् फेरि मधेशी जनतामाथि तरवार चलाइएको टिप्पणी गरे। 'संसदीय समितिले लोकसेवाको विज्ञापन संविधानसम्मत नभएको कबुल गरेको स्मरण गराउँदै उनले हालसम्म पनि मन्त्रीले सो कबुल नगरेको बताए। उनले 'मन्त्री र आयोगले यसलाई स्वीकार किन गरेको हो' भन्दै जानकारी पाउनुपर्ने माग राखे।
‘मन्त्रीले समितिको धज्जी उडाए,’ उनले भने, ‘सत्ता पक्षले पनि लोकसेवाको विधेयक खारेजीको माग गरेर सडकमा उत्रिएका छन्। मन्त्रिपरिषद्मा बसेर निर्णय गर्नेहरु नै किन विरोधमा छन्?’ चौथो मधेश आन्दोलन गर्नुपर्ने अवस्था सरकारले सिर्जना गर्न लागेको उनको आरोप छ।
‘के सोचेको हो सरकारले? समानुपातिक अधिकार खोसेको हो?,’ उनले भने, ‘संविधानले दिएको अधिकार कसरी मन्त्री र आयोगले नटेर्न पाइन्छ।’
सरकार र सडक दुवै सत्ता पक्षको कब्जामा
राजपा नेता कर्णले सरकार र सडक दुवै सत्ता पक्षले कब्जा गरेको आरोप लगाए। लोक सेवा आयोगको विज्ञापनका विषयमा कुरा उठाउँदै उनले यस्तो बताएका हुन्।
मंगलबार माइतीघर मण्डलामा यसको विरोधमा सत्तापक्षकै सांसदले भाषण गरिरहेको भेटेको भन्दै उनले दोहोरो चरित्र देखिएको आरोपसमेत लगाए। उनले भने, ‘संयोगले माइतीघर मण्डलामा गएको थिएँ। त्यहाँ सत्तापक्षका माननीयज्यू विज्ञापन खारेज गर् भनिराखेका थिए। सडक पनि सत्ताको, राज्य पनि सत्ताको, प्रतिपक्षी कहाँ जाने?’
लोक सेवा आयोगको विज्ञापनले संविधानको आत्मा निकालको उनको भनाइ छ। उनले भने, ‘समावेशी समानुपातिक संविधानको आत्मा थियो। समानुपातिक समावेशी झिकेर आत्मा उडाइयो। हामी मधेशी जनजातिको अधिकारमाथि तलबार चलाइयो।’
उनले सप्तरीमा बाटो बन्द गरेर आन्दोलन भइरहेको जानकारी गराउँदै आफूले वर्तमान विज्ञापन नमान्ने घोषणा गरे। (फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।