काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले गुठी विधेयक संसद् बाहिरबाट फिर्ता लिनु असंसदीय रहेको टिप्पणी गरेका छन्।
प्रतिनिधिसभाको बुधबारको बैठकको सुरुवातमै बोल्दै उनले संसद्मा दर्ता भएको विधेयक संसद्बाटै फिर्ता लिनुपर्ने संसदीय मान्यता रहेको जिकिर गरे।
उनले भने, ‘संसद्मा प्रस्तावित विधेयक बाहिरबाट फिर्ता लिने हो? संसदमा रहेको विधेयक सम्बन्धित मन्त्रीले यहीँबाट फिर्ता लिने संसदीय व्यवस्था छ। प्रधानमन्त्री केपी शर्मा ओली २०४८ सालदेखि सांसद हुनुहुन्छ। उहाँलाई थाहा छैन?’
यसबाहेक मिडिया काउन्सिल विधेयक, राष्ट्रिय मानवअधिकारसम्बन्धी विधेयक, सूचना प्रविधि विधेयक र राष्ट्रिय सुरक्षासम्बन्धी विधेयक पनि फिर्ता लिनुपर्ने उनले भनाइ राखे।
सरकारले प्रतिपक्षीलाई हेप्ने काम गरेको छ
सरकारले प्रतिपक्षीलाई हेप्ने र बलमिच्याइँ गर्ने काम गरेको सभापति देउवाले आरोप लगाए। मंगलबार आफूलाई प्रधानमन्त्री अघि बोल्न नदिएर संसदको प्रतिपक्षीको हुने अन्तर्राष्ट्रिय मान्यता मिचिएको उनको ठहर छ।
देउवाले भने, ‘हिजो मैले समय मागिसकेको थिएँ। प्रमले मेरो जवाफ दिन पाउनुहुन्थ्यो। जहाँ पनि संसद प्रतिपक्षीको हुन्छ।’
आफूले बोल्दा प्रधानमन्त्री ओलीलाई बोल्न सजिलो हुने भन्दै उनले प्रश्न गरे, ‘प्रधानमन्त्री बोल्ने भएपछि बोल्न पाइन्न भनियो। यस्तो पनि हुन्छ?’
प्रधानमन्त्री ओलीले जबरजस्ति बोल्न खोजेकाले विरोध गरिएको उनले प्रष्ट पारे। ‘संसद प्रतिपक्षीको हो। सरकार सत्ता पक्षको हो। यहाँ ठीक उल्टो भयो,’ देउवाले भने।
आफूले मंगलबार गुठी विधेयक बाहेक पनि बोल्नुपर्ने विषयहरु रहेका सुनाए। उनले भने, ‘शेरबहादुरले माग्यो, मैले दिनुपर्ने भयो भनेर डराइहाल्नुपर्ने अवस्था थिएन।’
यसैबीच उनले प्रधानमन्त्री ओलीको विदेश भ्रमणसमेत असफल भएको दाबी गरे। उनले कहीँ समकक्षीसँग भेट नभएको र कहीँ राजिनामा दिइसकेको व्यक्तिसँग भेटेको बताएका थिए।
भिडियोः
(फाइल तस्बिर)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।