सुर्खेत– नायिका रेखा थापालाई लाग्छ, छोरा र छोरी हुनु भनेको लिंग फरक हुनु मात्रै हो। यो उनीहरुको पहिचान हो, क्षमता जाँच्ने तराजु भने होइन।
अर्थात् छोरा र छोरीको क्षमतालाई फरक–फरक तराजु वा दृष्टिबाट जाँच्न नहुने रेखाको तर्क छ।
नेपाली चलचित्र क्षेत्रबाट ‘हिम्मतवाली’को छवि बनाएकी नायिका आफ्नो यही दृढ विश्वास यतिबेला आम नेपाली चेलीहरुहरुसम्म पुर्याउने अभियानमा छिन्। त्यसैले उनी ‘छोरीहरुका निम्त स्वर्णिम नेपाल बनाउने महाअभियान’मा सामेल भएर देश दौडाहा गरिरहेकी छिन्।
सोही अभियान अन्तर्गत सुर्खेत आइपुगेकी थापाले शनिबार सिम्ता गाउँपालिकाका बालबालिका तथा अभिभावकलाई प्रशिक्षण दिइन्।
‘छोरीहरु पनि छोराहरुभन्दा कम हुँदैनन्’, उनले भनिन्, ‘जे जति काम छोराहरुले गर्न सक्छन्, छोरीहरुले पनि गर्न सक्छन्।’ उनले छोरा र छोरीमा विभेद नगर्न सबै अभिभावकसँग आग्रह समेत गरिन्।
चलचित्रमार्फत पनि नारी सशक्तिकरणलाई जोड दिएको बताउने रेखाले अब वास्तविक जीवनमा पनि नारी सशक्तिकरणका लागि काम गर्ने बताइन्। उनले महिलाहरुले गर्भमा हुँदादेखि नै विभेद सहनुपर्ने भन्दै यसको अन्त्य गर्नुपर्नेमा जोड दिइन्।
‘अहिलेसम्मको समाजले छोरीलाई छोरासमान मान्न सकेको छैन’, उनले भनिन्, ‘छोरीहरुका निम्ति स्वर्णिम नेपाल बनाउन हरेक मानिसको सोच र चेतनामा परिवर्तन ल्याउन जरुरी भइसकेको छ।’
अभिभावकलाई छोरा र छोरीमा विभेद नगर्न भन्दै उनले छोरीहरुलाई भने हिम्मतवाली बन्न सुझाव दिइन्।
‘अब हरेक छोरीले हिम्मत गर्नुपर्छ, आफूलाई कमजोर बनाउनु हुँदैन’, रेखाले भनिन्, ‘अबको पुस्ताले छोरीहरु कमजोर हुन्छन् भन्ने परम्परागत सोच र मान्यतालाई चिर्नुपर्नेछ।’
आफूले पनि हिम्मत गरेरै सफलता पाएको बताउँदै रेखाले आफूप्रति दृढ विश्वास राखेर निडरताका साथ आफूले चाहेको हरेक काममा अघि बढ्न उत्प्रेरित गरिन्।
बालविवाहले छोरीहरुलाई पछि पारेको रेखाको भनाइ थियो। उनले बालविवाह गर्नै नहुने भन्दै नेपाललाई बालविवाहमुक्त देश बनाउन सबैले आ–आफ्नो स्थानबाट सहयोग गर्न अपिल गरिन्।
‘अब हामीले छोरीहरुका लागि स्वर्णिम नेपाल निर्माण गर्नुछ’ उनले थपिन्, ‘त्यसका लागि बालविवाह अन्त्य गरौं, छोरीहरुलाई भेदभाव नगरौं, समान अवसर उपलब्ध गराऔं।’
रेखाले आफूले पनि बालविवाहकै कारण निकै समस्या भोगेको भन्दै अब कसैले पनि यस्तो पीडा भोग्नु नपरोस् भनेर यो अभियानमा लागेको बताइन्।
प्रशिक्षक नरबहादुर कार्कीले सुरु गरेको ‘छोरीको निम्ति स्वर्णिम महाअभियान’मा सहभागी रेखाले कार्कीसँगै सुर्खेतसहित देशका विभिन्न जिल्लामा पुगेर बालविवाह विरुद्धको अभियान सञ्चालन गर्ने जनाइएको छ। यो अभियान गत वर्षदेखि सुर्खेतबाट सुरु भएको हो।
प्रशिक्षक कार्कीले २१औं शताब्दीमा आइपुग्दा पनि छोरी र महिलामाथि हुने हिंसा नरोकिनु दुःखद भएको भन्दै यही अवस्थाको अन्त्य गर्न यो अभियान सुरु गरिएको बताए।
‘महिला हिंसाका कारण कति महिलाले अकालमै ज्यान गुमाउनु परेको छ’, कार्कीले भने, ‘अब हाम्रा छोरीचेलीको भविष्य र जिउज्यानको सुरक्षा हुनुपर्छ, सबैले हिंसाको जड बालविवाह अन्त्यका लागि आआफ्ना ठाउँबाट संकल्प गरौं।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।