रामपुर– कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएर जीविकोपार्जन गर्दै आइरहेका बोटे समुदायको पेशा संकटमा परेको छ।
कालीगण्डकीको डुंगा सञ्चालन हुने विभिन्न घाटमा अहिले धमाधम पुल निर्माण हुन थालेपछि उनीहरुको पेशा संकटमा परेको हो।
बिहान उज्यालो भएदेखि राति अबेरसम्म काली नदीका विभिन्न घाटमा दुई दशक अघिदेखि सञ्चालनमा आएको डुंगा अहिले भने पूर्णरुपमा विस्थापित हुन पुगेको छ।
बोटे समुदायको पहिचानका रुपमा रहेको डुंगा चलाउने पेशा विभिन्न घाटमा पुल बन्न थालेपछि संकटमा परेको हो। कालीगण्डकीको आँधिघाट, खोरियाघाट, केलादीघाट, पुट्टारघाट, घुमारीघाट, भुजातघाट, असेर्दीघाट, बालीघाट लगायतका दर्जनौं घाटमा डुंगा सञ्चालनमा थियो। तर, अहिले यी घाटमा झोलुंगे तथा पक्की पुल बनेपछि बोटे समुदायको डुंगा चलाउने पेशा रोकिएको छ।
रामपुर नगरपालिका–३ बोटेगाउँ बस्ने ८० वर्षीय नरबहादुर बोटेले कालीगण्डकीको केलादीघाटमा ३५ वर्षसम्म डुंगा चलाए। अहिले सोहीघाटमा झोलुंगे तथा पक्की पुल बनेपछि बोटे समुदाय बेरोजगार हुनुपर्दा उनलाई दुःख लागेको छ।
उमेरले डाँडापारिको घाम बन्दै गएका बोटे बाउबाजेले गर्दै आएको डुंगा चलाउने पेशा बन्द गर्नुपर्दा बोटे समुदायको चिनारी हराउँदै गएकोमा चिन्तित छन्।
त्यस्तै, अर्का ७२ वर्षीय विष्णुबहादुर बोटेले पनि लामो समयसम्म सोही घाटमा डुंगा चलाए। वर्षायामको भेल पनि नभनी जोखिम मोलेर यात्रुलाई सुरक्षित नदी वारिपारी गराउने काममा उनी नकै सिपालु मानिन्थे।
'केलादी घाटमा दिनमा दुई वटा डुंगा नियमित चल्थ्यो एकछिन पनि फुर्सद हुन्नथ्यो,' उनले पुराना दिन सम्झिए, 'दैनिक ३ सयसम्म यात्रुलाई नदी वारपार गराउँथ्यौं।'
६२ वर्षीय बुद्धबहादुर बोटे डुंगा चलाउने काम रोकिएपछि अहिले कृषि कार्यमा लागेका छन्। 'आफूले गर्दै आइरहेको पेशा खोसियो, बच्चाबच्ची हुर्काउन पढाउन पर्यो, अहिले कृषि कार्य गरेर जीविका चलाउँदै आएको छु,' उनले भने। बुद्धबहादुरले पनि १५ वर्ष जति कालीगण्डकीका विभिन्न घाटमा डुंगा चलाएका थिए।
आफ्नो गरीखाने पेशा खोसिएपछि खिमबहादुर बोटे १५ वर्षजति विदेशमा रोजगारीका निम्ति बसे। 'डुंगा चलाउनुबाहेक अरु सीप केही थिएन, पेशा बन्द भयो। लामो समयसम्म आम्दानीका लागि मरुभूमिमा बसें,' उनले भने। डुंगा चलाउन सिपालु युवापुस्तका अर्का कृष्णबहादुर बोटे पनि अहिले कृषि कार्यमा लागेका छन्।
यहाँ अहिले बोटे समुदायभित्र झन्डै ३६ घरपरिवार छन्। उनीहरुले कालीगण्डकीका विभिन्न घाटमा छरिएर डुंगा चलाएर राम्रैसँग गुजारा चलाउने गर्थे। धमाधम विभिन्न घाटमा पुल निर्माण भएर आफ्नो पेशा संकटमा परेकोमा बोटे समुदाय जति चिन्तित छ त्यति नै चिन्तित नयाँ पेशा के गर्ने भन्नेमा छ।
डुंगा चलाउने काम नभएपछि रोजगारीको अर्को विकल्प नहुँदा समस्यामा परेको बोटे समुदायका मानिसहरु बताउँछन्। कृष्णबहादुर बोटेले भने, 'पुल बनेर गाउँमा विकास त आयो, डुंगामा नदी तर्नुपर्ने वाध्यता पनि टर्यो तर त्यो विकासले हाम्रो पेशा खोस्यो। हामीलाई अरु कुन पेशा अँगाल्ने भन्ने चिन्ताले घेरेको छ।'
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।