काठमाडौं– गायक देवेन्द्र कार्कीको स्वर रहेको म्युजिक भिडियो ‘ए सरकार २’ युवट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ। ‘बर्बाद भो हाम्रो सरकार...’ बोलको गीत रहेको म्युजिक भिडियो सरकारका बेथिति र जनताले भोग्नु परेका समस्यामाथि केन्द्रित छ।
म्युजिक भिडियो डाक्स समूह भीमफेदी गाइजको आधिकारिक युवट्युब च्यानलबाट सार्वजनिक गरिएको हो।
गायक कार्कीले मुलुकमा बढिरहेको भ्रष्टाचार विरुद्ध सरकारलाई गीतमार्फत सचेत गराउने प्रयास गरिएको बताए। गीतमा ‘भ्रष्टाचार र घुसखोरीको अन्त्य कहिले? गरिबी र अभावको अन्त्य कहिले?’ भनी सरकारलाई लगातार प्रश्न सोधिएको छ।
गिरिजा अधिकारीको शब्द, विकास पाण्डेको संगीत र रिकेश गुरुङको संगीत संयोजन रहेको गीतमा अहिले सिंहदरबार निदाएको भन्दै व्यंग्य गरिएको छ।
गायक कार्की भन्छन्, ‘देश संघीयतामा गइसकेपछि घरघरमा सिंहदरबार पु¥याउने गफ हाँकियो। तर, यथार्थमा जनताले त्यसको महसुस गर्न सकेनन्, जसका कारण हामीले यस्तो म्युजिक भिडियो सार्वजनिक गर्यौँ।’
अनधिकृत रुपमा प्राकृतिक सम्पत्तिको दोहन भएको छ। चुरे दोहन तीब्र हुँदा पनि सरकार मौन छ। विकास निर्माणको नाममा वन जंगल मास्ने काम भइरहेको छ।
कृषि उब्जाउ हुने खेतबारी प्लटिङ गरी पिच गरिएको छ तर राजधानीसहित देशका मुख्य सहरहरुको सडकको हालत दयनीय छ। ‘यी र यस्तै सेरोफेरोलाई हामीले शब्द र भिडियोमा उतारेका छौँ,’ गायक कार्कीले भने।
यसअघि कार्कीले मायाप्रेमका सात वटा गीत गाइसकेका छन्। उनका तीन वटा म्युजिक भिडियो सार्वजनिक भएका छन्। उनको ‘झिमझिम झिम्काई परेली, के भन्नलाई खोजेकी’ गीत निकै चर्चित भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।