काठमाडौँ – काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सदस्यले जनताका लागि विकास भएकाले सडक विस्तार गर्दा जनभावनाको कदर हुनुपर्नेमा जोड दिएका छन्।
जोरपाटी–सुन्दरीजल सडक विस्तार संघर्ष समितिले आज यहाँ आयोजना गरेको कार्यक्रममा काठमाडौँ क्षेत्र नं ३ बाट निर्वाचित सांसद कृष्ण राईले स्थानीय तहमा हुने विकास निर्माण एवं समस्याको समाधान स्थानीय सरकारबाटै हुनुपर्नेमा जोड दिए।
स्थानीयस्तरका काम स्थानीय सरकारबाटै गर्ने गरी कानून निर्माण भइरहेकाले त्यसैअनुसार गर्न सांसदका नाताले सहयोग गर्ने उनको प्रतिबद्धता थियो।
क्षेत्र नं ३ प्रदेशसभा (क) का सांसद छिरिङदोर्जे लामाले भत्काएर मात्र विकास निर्माण नहुने भएकाले उचित क्षतिपूर्ति एवं मुआब्जा दिएर काम अघि बढाइनुपर्ने बताए।
क्षेत्र नं ३ प्रदेशसभा (ख) का सांसद रामेश्वर फुयाँलले विकासका लागि सहयोग गर्न सबै तयार भए पनि सडक दायाँबायाँका घरलाई उचित क्षतिपूर्ति दिनेगरी समस्या समाधान गर्न माग गरे।
गोकर्णेश्वर नगरपालिकाका प्रमुख सन्तोष चालिसेले सर्वोच्च अदालतले पनि उचित क्षतिपूर्ति दिएर सडक विस्तारको काम अगाडि बढाउन आदेश दिएकाले त्यसैअनुरुप काम हुनुपर्ने धारणा राखे।
कार्यक्रममा नगरपालिकाकी उपप्रमुख शान्ति नेपाल, संघर्ष समितिका अध्यक्ष सरोजकुमार श्रेष्ठ, सचिव सुशील सिंखडालगायतले सडक विस्तारका नाममा जनता आतंकित नबनाउन अनुरोध गरेका छन्।
राष्ट्रिय शहीद तथा शान्ति स्मारक निर्माणस्थल गोकर्णमा आज आयोजित कार्यक्रममा क्षेत्र नं ३ बाट निर्वाचित प्रतिनिधिसभा एवं प्रदेशसभा सांसदलाई बधाई तथा शुभकामना दिइएको थियो । रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।