राजविराज– सप्तरीको बलान–बिहुल गाउँपालिकामा शनिबार बिहान आगलागी भएको छ। आगलागीमा ५ वटा पशुचौपाया सहित ५ लाखभन्दा बढीको क्षति भएको जनाइएको छ। आगो निभाउने क्रममा २ जना घाइते भएका छन्। आगो निभाउने क्रममा राजिया र उनकी बुहारी बबिता घाइते भएका हुन्। उनीहरुको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
वडा नम्बर २ का राजिया यादवको गोठमा बालेको घुरबाट बिहान करिब ४ बजे सुरु भएको आगलागीमा परी उनको र जोगिन्दर यादवको घर तथा गोठ पूर्णरुपमा क्षति भएको छ। दुवै जनाको गोठमा रहेका ५ वटा बाख्रा जलेर मरेको गाउँपालिका अध्यक्ष दयानन्द गोइतले जानकारी दिए।
स्थानीबासीको सहयोगमा करिब १ घन्टापछि आगो नियन्त्रणमा आएको अध्यक्ष गोइतले जनाए।
गाउँपालिकाकै सहयोगमा घाइते र जलेका पशुचौपायको उपचार भइरहेको जानकारी दिँदै उनीहरुको अस्थायी बसोबास र तत्कालको खानाका लागि पनि गाउँपालिकाले व्यवस्था मिलाएको गोइतले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।