इटहरी– सुनसरीजस्तो सुगम एवं सञ्चारको राम्रो पहुँच भएको जिल्लामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय पहिचान बनाएको कोशीटप्पु वन्यजन्तु आरक्ष भने सञ्चारविहीन भएको छ।
आरक्ष प्रशासनका अनुसार विगत ९ वर्षदेखि कोशीटप्पु वन्यजन्तु आरक्ष सञ्चारको पहुँच बाहिर छ। सञ्चार सेवा नहुँदाका समस्याबारे सम्बन्धित सरोकारवाला निकायमा निवेदन गर्दासमेत नेपाल टेलिकमको टावर बन्न नसकेको आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले बताए।
साहले २०६६ भदौ २ मा सप्तकोशी नदीले आफ्नो बाटो बदल्दै साबिक पश्चिम कुशाहा–४ बाट पूर्वी तटबन्ध भत्काएर आरक्षको मुख्य कार्यालय डुबानमा परेदेखि त्यहाँ सञ्चार सम्पर्क विच्छेद भएको बताए।
विश्व रामसार सूचीमा पहिलो सूचीकृत नेपालको पहिलो सिमसार क्षेत्रका रुपमा रहेको आरक्षप्रति राज्यको ध्यान नपुगेका कारण बाढीले बगाएर लगेको नेपाल टेलिकमको टावर मर्मत हुन नसकेको साहले गुनासो गरे।
उनले टेलिफोन–मोबाइल–इमेल–इन्टरनेट प्रयोगका लागि आरक्षदेखि बाहिर जानुपर्ने र सम्बन्धित निकायमा तत्काल सञ्चार सम्पर्क गर्न कठिनाई व्यहोर्नु पर्दासमेत माथिल्लो निकायको ध्यान नपुगेको बताए। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।