वीरगन्ज– उपप्रधान मन्त्री एवं संघीय मामिला तथा स्थानीय विकासमन्त्री विजयकुमार गच्छदारले दलित, महिला, मधेशी, जनजाति सबैलाई अधिकारसम्पन्न बनाएकाले वर्तमान संविधान अग्रगामी भएको बताएका छन्।
नेपाल लोकतान्त्रिक फोरमद्वारा वीरगन्जको माइस्थानमा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै लोकतान्त्रिक गणतन्त्रको स्थायित्वका लागि वर्तमान संविधान उपयुक्त भएको उनले बताए। संविधानले दलित तथा महिलाहरुलाई ३३ प्रतिशत स्थान सुनिश्चित गरेका कारण अहिले दलित महिलाले निर्वाचनमा भाग लिन पाएको उनको भनाइ छ।
केही दलले आफ्नो निजी स्वार्थका लागि जतिसुकै संविधानको विरोध गरेपनि यसले हिमाल, पहाड र तराई सबैलाई समानताको अधिकार दिएको बताए। २ नं प्रदेशको राजधानी जनकपुरलाई बनाउन आफूलाई दबाब आइरहेको बताउँदै उपप्रधानमन्त्री गच्छदारले भने, ‘वीरगन्जमा पर्याप्त पूर्वाधार भएकाले प्रदेशको राजधानी वीरगन्ज पनि हुनसक्छ।’ रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।